राजनीतिक राष्ट्रिय तरङ्ग र खोक्रो राष्ट्रबादले राष्ट्रिय समस्या, कुटनीतिक पहलबाट अन्त्य गरौं: भानु भट्टराई (विचार)

  |   प्रकाशित :

दक्षिण पूर्वी एसियामा रहेका राष्ट्रहरूमा नेपाल एक भूपरिवेष्टित राष्ट्र हो। नेपालमा विभिन्न जातजाति,भाषाभाषी, धर्म, सम्प्रदायका मानिसहरूको बसोबास छ।

सबैका आ–आफना रितीरिवाज र चाडपर्वहरू छन्। यहाँ हिन्दू, बुद्ध, किरात, मुस्लिम क्रिष्चियन लगायतका धर्मावलम्बीको बसोबास छ। हिमाली जिल्लाहरूमा शेर्पा, गुरुङ, लेप्चा, भुटिया लगायतका जातका मानिसहरूको बसोबास छ भने पहाडी जिल्लामा राई, लिम्बू, तामाङ्ग, शेर्पा, ब्राम्हण क्षेत्री, शिल्पी लगायतका मानिसहरूको बसोबास छ ।

तराईका जिल्लाहरुमा मधेसी आदिबासीहरुको बसोबास छ। आदिकालदेखि नेपालको भौगोलिक धरातलमा विभिन्न जातजाति, भाषाभाषी, धर्म सम्प्रदायका मानिसको बसोबासमा विविधता छ। यो विविधतामा एकता छ । यसैमा अपनत्व र राष्ट्रिय प्रेम झल्किन्छ।

नेपाली आफूलाई स्वावलम्बी, बहादुरी, पराक्रमी, शान्ति र सह–अस्तित्ववादी भएको देख्न र सुन्न मन पराउँछ।परापूर्वकालदेखि नै नेपालीहरु शान्ति प्रिय र सह–अस्तित्व वादी थिए । यो एक तपोभूमि र ज्ञानभूमि थियो। नेपालका युवाहरु शान्ति र अस्तित्वलाई जहिले पनि आत्मसाथ गर्दछन्।

जसरी आदिकालदेखि नेपालका युवाहरुमा शान्ति, राष्ट्रभक्ति र अस्तित्वको चेतना थियो । त्यो मध्यकालमा पनि रहयो र वर्तमानमा पनि हुनुपर्छ। नेपाल एक भूपरिवेष्टित विकासोन्मुख असंलग्न सार्वभौम राष्ट्र हो।

नेपालको उत्तरमा जनवादी गणतन्त्र चीन र दक्षिणमा बहुदलीय प्रजातान्त्रिक राष्ट्र भारत रहेका छन्। दुवै राष्ट्र बिश्व शक्ति राष्ट्रमा पर्दछन्। चीन विश्व अर्थतन्त्रको दर्विलो राष्ट्रको रुपमा स्थापित छ भने भारत पनि विश्व शक्तिराष्ट्र र आत्मानिर्भर अर्थतन्त्र भएको राष्ट्रको रुपमा स्थापित राष्ट्र हो।

दुवै राष्ट्र सैन्य शक्ति र आर्थिक विकासले बिकसित राष्ट्रमा परिणत भइसकेका छन्। नेपालको उत्तरी र दक्षिणी सीमामा रहेका विशाल शक्ति राष्ट्रहरुको माझमा रहेको हाम्रो राष्ट्रले दुवै शक्ति राष्ट्रलाई सन्तुलनमा राखेर अघि बढ्न सक्नु पर्ने हुन्छ।

भौगोलिक जटिलताका दृष्टिले मित्रराष्ट्र चीनसँग नेपालको व्यापार तथा पारवहन जटिल र गाह्रों छ, जति सहज, सरल, छिटो र कम खर्चिलो भारतसँग हुन्छ। भारतसँग नेपालको समथल सतह र खुल्ला सिमानाको कारणले व्यापार व्यवसायमा सहजता छ। नेपाल–भारतको सम्बन्ध देश–देशको मात्र नभएर धर्म, संस्कृति, रीतिरिवाज र रहनसहनमा पनि आधारित छ।

लाखौं नेपालीहरु भारतको विभिन्न ठाउँमा स्थायी रूपले बसोबास गर्दै आएको इतिहास लामो छ। भारतको दार्जीलिङ, सिक्किम, आसाम, मेघालय, मणिपुर लगायतका ठाउँहरुमा लाखौंलाख नेपाली भाषीको बसोबास छ। नेपालीहरूको नेपालीत्व भारतका नामुद सहरहरूमा प्रस्ट देखिन्छ।

दार्जीलिङको लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती र सिलाङ्गको भानुभक्त आचार्यको पूर्णकदको सालिकले पनि नेपाल भारत सम्बन्ध र भाइचारालाई प्रतिबिम्बित गर्छ। नेपाल–भारतको सदियौं पुरानो सम्बन्धलाई सतही रूपबाट मात्र बुझ्दा र राजनीतिक आवरणले बेरिँदा गलत अर्थ लाग्न जान्छ।

आफ्नो स्वार्थ सिद्धी र अपरिपक्क कुटनैतिक क्षमताका कारणले हाम्रो सम्बन्धलाई धमिल्याउने राजनीतिक चालबाजीले हामीलाई नकारात्मक प्रभाव पार्छ सक्छ। नेपालले बृहत राष्ट्रिय सहमति र सहकार्य गरेर अगाडि बढ्न सके मात्र उपलब्धि हासिल गर्न सक्ने अवस्था छ।

नेपालमा आएको राजनीतिक राष्ट्रिय तरङ्ग र सतही र मौसमी राष्ट्रवादले वर्तमान समस्याको निकास निकाल्न गाह्रो छ। वर्तमान नेपाल–भारत सम्बन्धलाई उजागर गर्न २१ औं शताब्दीको यो विज्ञान र प्रविधिको समयमा सारा युवाले सुसूचित हुनु अति जरुरी छ।

खोक्रो राष्ट्रबादले राष्ट्रिय समस्यालाई ओझेलमा पारी निश्चित व्यक्ति, दल वा सिद्धान्तको मात्र गुणगान गाउने र फाइदा पुर्याउने हुन सक्छ। तसर्थ २१ औँ शताब्दीको विज्ञान र प्रविधिको विश्वमा सतही होइन, अर्थपूर्ण र खोक्रो होइन, ठोस, स्वार्थ होइन निस्वार्थ, आवेग होइन ध्यानपूर्वक राष्ट्रिय सहमति कायम गर्दै कुटनीतिक पहलबाट राष्ट्रिय समस्याको निकास निकाल्न पहल गरौं।

नेपाल–भारत सम्बन्धलाई खकुलो रुपमा होइन, कसिलो बन्धनले बाँध्न युवा जमातलाई आग्रह गरौँ, अभिप्रेरित गरौँ र सुसूचित गरौं। आदिवासी, जनजाति, सीमान्तकृत समुदाय, दलित, मुस्लिम, मधेसी, पिछडावर्ग, महिलाहरुको आमसहमतिबाट राष्ट्रिय परराष्ट्र नीति तयार पारी अवलम्बन गर्दै छलफल, सहमति र सहकार्य कायम गर्दै कुटनीतिक पहलबाट समाधानको बाटो अवलम्बन गरौँ। छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ। कि कसो ? (विवेचनाबाट संभार)

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech