इंग्लिस प्रिमियर लिगः प्यालेसमाथि ४-० को जितसँगै लिभरपुल उपाधि नजिक

  |   प्रकाशित :

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल उपाधि नजिक पुगेको छ ।

लिगमा लिभरपुल क्रिस्टल प्यालेसमाथि ४–० को जितसँगै उपाधि नजिक पुगेको हो । बुधबार राति घरेलु मैदान एनफिल्डमा लिभरपुलले खेलको सुरुवातदेखि नै प्यालेसमाथि दबाब बनाएको थियो । 

जसमा उसले २३ औं मिनेटमा नै अग्रता लियो । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो । मिडफिल्डर फाबिन्होको पासमा मोहमद सलाहले गोल गरे । यो सिजनमा सलाहको घरेलु मैदानमा १५ औं गोल हो ।

पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो । ५५ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अन्तर तीन शून्यमा पुर्याए । ६९ औं मिनेटमा लिभरपुलले चौथो गोल थप्यो । यसपटक सलाहले दिएको पासमा मानेले वन भर्सेस वनको स्थितिमा गोल गरे ।

जितपछि लिभरपुल उपाधिको निकै नजिक पुगेको छ । लिभरपुलले अर्को खेल म्यानचेस्टर सिटीसँग खेल्नेछ । त्यसअघि सिटीले चेल्सीको सामना गर्नेछ । सिटीले त्यो खेल हारेमा लिभरपुल च्याम्पियन बन्नेछ । अंक तालिकामा लिभरपुलले ३१ खेलमा ८६ अंक जोडेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech