भारतले आफुलाई हटाउन षड्यन्त्र गरेको प्रधानमन्त्रीको खुलासा, लैनचौर देखी दिल्ली सक्रिय रहेको भन्दै ओलीले दिए ‘दनक’, यस्तो छ प्रमको आक्रोश !

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन् । उनले देशभित्र र बाहिर ठुलो समुह आफूलाई हटाउन लागिरहेको बताएका हुन् ।

आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले छिमेकी भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी दिएका छन्। 

कार्यक्रममा भारतीय मिडिया र बौद्धिक बहसहरुबारे उल्लेख गर्दै आफूलाई हटाउन भारत लागेको आरोप लगाएका हुन् । उनले भने, ‘भारतीय मिडिया सुन्नुभएको होला, प्रधानमन्त्री परिवर्तन हुँदैछ भनेर हल्ला गर्दैछन् । कसरी भारतीय राज्य संयन्त्र सक्रिय छ भन्ने बुझ्नुभएको होला ।’ उनले भारतको राज्य संयन्त्र नै आफ्नाविरुद्ध सक्रिय रहेको आरोप लगाए ।

‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोशिस गर्नेलाई गर्न दिऔं। कसैले हतार नगरे हुन्छ। मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन। यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न। आजका लागि होइन भोलिका लागि। आफ्ना लागि होइन देशका लागि।’

कतिपयले नयाँ नक्सा छापेपछि नेपाललाई झन् गाह्रो हुने बताए पनि त्यस्तो केही गाह्रो नहुने बताए। ‘गाह्रो के हुन्छ जमिन गएको थियो। त्यो फिर्ता लिन खोज्दा गाह्रो भन्या के। एक सय ४६ वर्षसम्म उपभोग गरेको जमिन १९६२ देखि उपभोग गर्न पाएनौं। ५८ वर्षदेखि खोसियो। हाम्रो जमिन हो। अरूको जमिन अतिक्रमण गरेको होइन कुनै गल्ती गरिएको छैन,’ उनले भने। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech