अस्ट्रेलियामा चीनसँग मिलेर राष्ट्रहितविरुद्ध लागेको भन्दै सांसदको घरमा छापा

  |   प्रकाशित :

काठमाडौं । अस्ट्रेलियाको गुप्तचरका कर्मचारी र प्रहरीले विपक्षी पार्टीका सांसदको घरमा छापा हानेका छन् । उनीहरुले चिनसँग मिलेर राष्ट्रहितविरुद्धका गतिविधि सञ्‍चालन गरेको आरोपको अनुसन्धानका लागि सांसदको घरमा छापा हानेका हुन् । 

चिनियाँ कम्युनिस्ट पार्टीसँग साँठगाँठ भएको भन्दै न्यु साउथ वेल्सका सांसद साओक्विट मोसेलमानेको सम्पत्तिको छानबिन गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसन (एआईएसओ)ले अनुसन्धानकै क्रममा सिड्नीमा खोजी कार्य भइरहेको बताएको छ । 

उनले संसदमा र लेबर पार्टीभित्र चीन समर्थित गतिविधिहरु गर्ने र चीन समर्थित मुद्दाहरु उठाउने गरेको बताइएको छ । लेबर पार्टीकी नेतृ जोडी म्याकीले आफूलाई मोसेलमानेको घर र कार्यालयमा अनुसन्धान गर्ने विषयमा जानकारी गराएको र उनले ती सांसदको निलम्बनको प्रक्रिया अघि बढाएको बताएको छन् । 

उनले भनिन्, ‘यसले हाम्रो ध्यानाकर्षण गराएको छ । हरेक सांसदले आफ्नो मुलुक र राज्यप्रति बफादार हुनुपर्छ ।’ मोसेलमानेले कोरोना भाइरस महामारीमा सी जिनपिङको नेतृत्वको प्रशंसा गर्ने गरेका थिए । उनले सन् २०१८ मा विश्वको नयाँ संरचना सम्बन्धी मन्तव्यसमेत दिएका थिए । पछिल्लो समय चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा दरार पैदा भएको  छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech