आफ्नो पक्षमा आन्दोलन चर्काएर देश ठप्प पार्न युवा नेताहरुलाई प्रधानमन्त्रीको निर्देशन

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफु समर्थित युवाहरुलाई बालुवाटार बोलाएर सडक आन्दोलन गरेर देश ठप्प पार्न निर्देशन दिएका छन् ।

बिहीबार राति ९ बजे पूर्वमन्त्री महेश बस्नेत, युवा संघका रमेश पौडेल, ऐन महर, सुनिता बराल लगायतलाई प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्। 

सोही निर्देशन बमोजिम अब देशभरी नै ओलीको समर्थनमा प्रदर्शन हुने भएको छ । भेटघाटमा सहभागी एक नेताले भने ‘अब पार्टी फुट्ने भयो, तपाईंहरुले सडक आन्दोलन गरेर साथ दिनुपर्‍यो,’ । सहभागीहरुसँग ओलीले वर्तमान राष्ट्रवादी सरकारविरुद्ध देशी-विदेशी शक्ति लागिरहेको बताएका थिए । ओलीले सहभागीहरुसँग सरकारविरुद्ध देशी-विदेशी शक्ति लागिरहेको र त्यो प्रवृत्ति पार्टीमा पनि देखिएको भन्दै यसको भण्डारफोर गर्न आग्रह समेत गरे । आन्दोलनको नेतृत्व गर्ने मुख्य जिम्मेवारी ओलीले पूर्वमन्त्री बस्नेतलाई दिएको स्रोतले जनाएको छ । 

ओलीले पार्टी बैठक भनेर बोलाई आफ्नो उछितो काडिएको र राजीनामा माग गरिएको प्रसंग उल्लेख गर्दा सहभागी युवा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिन नहुने सुझाव दिएको जनाइएको छ। प्रधानमन्त्री ओलीले राति १० बजेसम्म उनीहरुलाई ब्रिफिङ गरेका थिए। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech