ओलीको निर्देशनमा सरकार समर्थित आन्दोलन गर्ने युवालाई कारबाही गर्छौः सापकोटा

  |   प्रकाशित :

काठमाडौं । युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ले सरकारको समर्थन गर्दे आन्दोलनमा उत्रिएका युवालाई कारबाही गर्ने चेतावनी दिएका छन् । युवासंघको नेतृत्वमा सरकार समर्थित आन्दोलन भइरहेको छ नि ? भन्ने प्रश्नमा उनले युवासंघबाट आन्दोलन गरिएको भए कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘पार्टी बैठक छोडेर सडकमा गरिने प्रदर्शन किमार्थ स्विकार्य छैन । पहिलो त विधि, विधान, पार्टी नमान्ने र गैरकानुनी बाटो अगुवाहरुले रोज्नु हुँदैन । दोस्रो कोरोनाका कारण मुलुक नै लकडाउन र सामाजिक दुरी कायम गर्नगराउन भुमिका खेल्नुपर्ने सत्तापक्षका हामीले सडक रोज्नु लज्जाको विषय हो’, उनले भने, ‘आज समर्थनको जुलुश खोज्दा भोली विरोधको जुलुश लाग्यो भने चै के गर्ने ? कसैसँग उत्तर छ ? आन्दोलनमा होमिएका युवालाई कडा कराबाही गरिन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सरकारको समर्थनमा आन्दोलन भएको पाइएको छ । देशव्यापी रुपमा ‘ओली सरकारलाई काम गर्न दे’ भन्दै युवाहरुको समूह आन्दोलनमा उत्रिएको हो । युवाहरुको समूहले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ भन्दै माइतीघर मण्डलासहित देशका अधिकांश स्थानमा प्रर्दशन गरिरहेका छन् ।

माइतिघर मण्डलामा आन्दोलनमा होमिएका एक युवाले प्रधानमन्त्रीको निर्देशनमा सरकार समर्थित प्रर्दशन भएको बताए । उनले युवा संघका केही युवालाई बोलाएर नै आन्दोलनमा होमिन निर्देशन दिएको जानकारी दिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक सडकमा उत्रिएका हुन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech