बारम्बार ‘नेम्वाङको काधमा बन्दुक' राखेर सत्ता संकट टार्छन् ओली, जनजाती कार्ड कि भुलभुलैयामा राख्ने खेल !

  |   प्रकाशित :

काठमाडौं । प्रधनामन्त्री केपी शर्मा ओलीलाई समस्यामा पर्दा अर्थात् ओलीले संकटको घडीमा मधेशी, जनजाती लगायतलाई याद गर्ने गरेको प्रष्ट भएको छ । 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रै प्रधानमन्त्री ओलीको राजीनामाको माग चर्को रूपमा उठेको छ। केहि दिन अघिमात्र प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउन भारत र आफ्नै पार्टीभित्रका नेता लागेको अभिव्यक्ति दिएपछि बालुवाटारमा चलिरहेको नेकपाको स्थायी कमिटीको बैठकमा उनको चर्को आलोचना भयो।

राजीनामा माग गर्नेमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अन्य शीर्ष नेताहरू र स्थायी कमिटी सदस्य छन्। पार्टीभित्र प्रधानमन्त्री ओलीको विपक्षमा आवाज उठेको र राजीनामाको माग भएको यो पहिलो पटक होइन। प्रधानमन्त्रीको रूपमा करिब साढे दुई वर्ष बिताइसकेका ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफूले लिने गरेको भनेर पटकपटक आलोचना भएको छ। कुनैकुनै बेला उनले एउटा पद छोड्नु पर्ने माग चर्को बने पनि ती कुनै न कुनै हिसाबले साम्य बनाउन ओली सफल देखिएका छन्। अन्तिम पटक त्यस्तो विरोध दुई महिनाअघि स्थायी कमिटीका सदस्यहरूले हस्ताक्षर नै गरेर बैठकको माग गरेपछि देखिएको थियो। 

सचिवालय बैठक र स्थायी कमिटी बैठक दुवैमा ओली अल्पमतमा थिए। तर गत बैशाखमा स्थायी कमिटीले बैठकको माग गरिरहेकै बेला बसेको सचिवालयको बैठकले प्रधानमन्त्रीको राजीनामाको विषय सचिवालय बैठकको अजेन्डामा नरहेको बताएपछि साम्य भएको थियो। यसपटक भने प्रधानमन्त्रीलाई पार्टीभित्र विगतभन्दा बढी दबाव परेको विश्लेषकहरू बताउँछन्। विगतमा सचिवालय बैठकमा मात्रै बहसमा रहेको विषय अब स्थायी कमिटी बैठकमै देखिएको छ। त्यसैले यो गम्भीर बनेको छ। प्रधानमन्त्रीको राजीनामा मात्रै नभई पार्टी विभाजनको सम्भावनासमेत निम्तिएको देखिन्छ। 

यस्तो गम्भिर संकटमा पर्दा केपी ओलीले फेरी सुभाष नेमाङलाई ‘याद’ गरेका छन् । केहि दिन अघि मात्रै (संकटमा परेकै बेला) ओलीले सुभाष नेमाङलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, सुभाष नेमाङले भने ओलीको यस्तो प्रस्तावलाई अस्विकार गरेको स्रोतले जनाएको छ । ठिक अहिलेकै जस्तै वर्तमान प्रधानमन्त्री ओली ४ वर्ष अघि प्रधानमन्त्री कै पदमा हुदाँ पनि संकटमा परेका थिए । र त्यस समय पनि सुभाष नेमाङ, उपेन्द्र यादव लगायत मेधेशी, जनजातीलाई सम्झेका थिए । 

त्यस समय पनि आफु संकटबाट मुक्त हुन अहिलेको जस्तै, अनेकौ शुत्र प्रयोग गरेका थिए । तर, अन्त्यमा आफ्नो पदबाट राजिनामा दिनु पर्यो । व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। त्यस समय एमाले अध्यक्ष समेत रहेका ओली नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । नयाँ सरकार गठनका लागि कुनै अवरोध नहोस् भनेर बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको उनले संसदलाई जानकारी दिएका थिए । उनले ‘यसले नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुला गरेको छ ।’ भनेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech