‘शिक्षा’भन्दा ‘सिद्धान्त’ पढाएको भन्दै ट्रम्पले दिए यस्तो धम्की

  |   प्रकाशित :

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्कुल, कलेज र विश्वविद्यालयहरुलाई दिँदै आएको संघीय सरकारको सहयोग रकम दिन बन्द गर्ने धम्की दिएका छन् ।

ट्रम्पको यो धम्कीले अमेरिकी समाजमा नयाँ तरङ्ग र बहस सृजना गरेको छ । उनले आफ्नो ट्वीटमा भनेका छन्, ‘ धेरै विश्वविद्यालय र स्कुलहरुको प्रणाली र्‍याडिकल लेफ्टहरुको सिद्धान्त सिकाउने खालको छ, शिक्षा दिने हैन । तसर्थ, मैले ट्रिजरी विभागलाई तिनीहरुको कर छुटको दायरा र हाम्रो सहयोगबारे पुनर्विचार गर्न भनेको छु ।’

उनले थपेका छन्, ‘यस्तो काम रोकिन्न भने ती सुविधा हटाइने छ । हाम्रा बच्चाहरुलाई शिक्षा चाहिएको छ, सिद्धान्त सिकाई हैन ।’ ट्रम्प कोरोना महामारीकै बीचमा पनि स्कुलहरु खुुल्नुपर्ने पक्षमा देखिएका छन् । उनीले भनेका छन्, ‘स्कुलको काम नै खुल्नुु र विद्यार्थी पढाउनु हो । यदि स्कुल खुल्दैनन र विद्यार्थी पढाईदैन भने उनीहरुलाई संघीय अनुदान किन दिने ?’

कोरोना महामारीबीच स्कुल खोल्ने नीतिको अमेरिकी शिक्षक युनियनले विरोध गर्दै आएको छ । युनियनको भनाईको आलोचना गर्दै ट्रम्पले यसलाई चुनावसँग जोडेका छन् । बिहिबारको अर्को एक ट्वीटमा उनले भनेका थिए, ‘स्कुल खोल, स्कुल खोल, स्कुल खोल, बन्द राख्ने मुर्खता नगर । स्कुल बन्द राख्दा नोभेम्बर थर्डमा उनीहरुलाई फाइदा हुन्छ भन्ने ठानेका होला, झन बेफाइदा हुने छ ।’ नोभेम्बर ३ अमेरिकामा आगामी राष्ट्रपतीय निर्वाचनको दिन हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech