कोरोना उत्पत्तिको स्रोत खोजी गर्दै डब्लुएचओका विज्ञहरू चीनमा

  |   प्रकाशित :

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का विज्ञहरू चीन पुगेका छन् । 

कोरोना भाइरसको उत्पत्तिको स्रोतको खोजी गर्दै विज्ञहरू चीन पुगेका हुन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले पुष्टि गरेकी हुन् । 

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरू अध्ययनका लागि चीन आएका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरूले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने जानकारी दिए।

“उनीहरूले हाम्रा विज्ञहरूसँग सम्बन्धित विषयमा प्रश्नहरू गर्नेछन् र हाम्रा विज्ञहरूले जानकारी दिनेछन्,” प्रवक्ता हुआले भनिन् । डब्लुएचओका स्वास्थ्य विशेषज्ञहरूले यस्तै छलफलका लागि अन्य देशहरूमा पनि जान सक्ने उनले बताइन्।

“कोरोनाभाइरसको विकासका लागि विभिन्न देश तथा क्षेत्रहरूमा धेरै चरण पूरा गर्नुपरेको डब्लुएचओले पनि विश्वास गरेको छ, त्यही चरणहरूका बारेमा पहिचान गर्न उनीहरू आएका हुन्,” उनले भनिन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech