अब साना करदाताले बैंकमार्फत कर विवरण बुझाउन सक्नेः अर्थमन्त्री

  |   प्रकाशित :

काठमाडौं । साना करदाताले अब बैंकमार्फत कर विवरण बुझाउन सक्ने भएको भएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले करभन्दा कर तिर्न जाँदा लाग्ने खर्च बढी हुने भएकाले यस्तो अवस्थाको अन्त्य गरिने बताएका छन् । साना करदाताको आय विवरण र कर भुक्तानीसम्बन्धी विद्युतीय प्रणालीको बिहीबार शुभारम्भ गर्दै उनले कर प्रणालीमा भएको व्यवस्थापकीय सुधारका रूपमा व्याख्या गरे । 

“लामो समयदेखि कर प्रणालीमा सरकारले गर्न खोजेको सुधारएको एउटा पाटो व्यवस्थापकीय सुधार पनि हो, कर तिर्ने समय, कर तिर्दा लाग्ने अतिरिक्त लागत, कर चुक्ता प्रमाणपत्र लिन अतिरिक्त समय लाग्ने अवस्था थियो,” उनले भने, “यी सबै कारणले साना करदाता कर तिर्न नचाहेर होइन, कर तिर्न हुने कठिनाइले कर दाखिला नगर्ने र विवरण नबुझाउने अवस्था थियो अब कर विवरण नबुझाउनेहरू घट्दै जान्छन् ।”

बजेटमै अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षबाट २० रुपैयाँ लाखसम्म कारोबार गर्ने र दुई लाखसम्म आम्दानी हुने साना व्यवसायीहरूले अघिल्ला वर्षको पनिसहज ढंगले विद्युतीय माध्यमबाट कर चुक्ता गर्न चाहेमा छुट दिने व्यवस्था गरेका थिए । अर्थमन्त्री खतिवडाले आज सोही व्यवस्थाको औपचारिक शुभारम्भ गरेका हुन् । 

करदाताले कर कति बुझाउने एकिन भएपछि पनि बैंकमा जानुपर्ने, कर बुझाएर फेरि भौचर ल्याउनुपर्ने, भौचर ल्याएर कर कार्यालयमा दाखिला भएर हिसाब मिलान नहुँदासम्म विवरण बुझाएको नमानिने र यी सबै पूरा नहुँदासम्म करचुक्ता प्रमाणपत्र नपाउनेलगायत समस्याको अब अन्त्य भएको अर्थमन्त्री खतिवाडको दाबी छ । कर प्रणाली बैंकिङ प्रणालीसँग जोडिएकाले करदाताले प्रयोग गर्ने विद्युतीय माध्यमबाट पनि कर तिर्न सक्ने अवस्था भएको उनले बताए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech