पाकिस्तानको अल्पसंख्यकलाई उत्पिडनको नीति, हिन्दुमन्दिर निर्माणमा रोक लगाएको भन्दै नेपालमा समेत प्रदर्शन

  |   प्रकाशित :

काठमाडौं । पाकिस्तानले अल्पसंख्यक समुदायलाई उत्पिडनमा राख्‍ने नीति लिएको स्पष्ट हुँदै आएको छ ।

पछिल्लो समय पाकिस्तानको राजधानी इस्लामावादमा हिन्दु मन्दिर निर्माण कार्य अघि बढाउने भनिए पनि अहिले आएर रोक लगाइएको छ । त्यहाँका विभिन्‍न धार्मिक नेताहरुले उक्त मन्दिर बनाउन नहुने भन्दै सरकारलाई दबाब दिइरहेका छन् । उनीहरुको दबाबपछि सरकार पनि पछि हटेको छ । हिन्दु मन्दिर निर्माणमा रोक लगाएको विरोधमा नेपाल विश्व हिन्दु महासंघले नेपालसमेत प्रदर्शन गरेको छ ।

पाकिस्तानको इस्लामावादमा पहिलो ऐतिहासिक मन्दिर निर्माणमा त्यहाँको अदालतले रोक लगाएको भन्दै त्यसैको विरोधमा शनिबार वीरगन्जमा नेपाल विश्व हिन्दु महासंघले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी हिन्दु धर्म समर्थकले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको विरोधमा नाराबाजी गर्दै उनको पुत्ला पनि जलाएका थिए ।

त्यसअघि वीरगन्जको श्रीपुरबाट विश्व हिन्दु महासंघ पर्साले निकालेको विरोध जुलुश नगर परिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने हिन्दु धर्मका अगुवाले पाकिस्तानका प्रधानमन्त्री खान आफैंले आदेश दिएपछि इस्लामावादमा मन्दिर निर्माणको काम थालिएको तर पछि त्यहाँको राजनीतिक दवाबमा मन्दिर निर्माणमा रोक लगाएर हिन्दु धर्मावलम्बीमाथि अन्याय गरेको बताएका थिए ।

नेपालका प्रधानमन्त्रीले पाकिस्तानी प्रधानमन्त्रीसँग कुटनीतिक सम्वाद गरेर मन्दिर निर्माणको काम सुचारु नगराए नेपालकै प्रधानमन्त्रीको पनि पुत्ला जलाउन आफूहरु बाध्य हुने चेतावनी उनीहरुले दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech