ईयूको कोरोना राहत प्याकेजको दलाई लामाद्वारा स्वागत

  |   प्रकाशित :

तिब्बतका धार्मिक गुरु दलाई लामाले युरोपियन यनियनका नेताहरुले ल्याएको कोरोना भाइरस प्याकेजको स्वागत गरेका छन् ।

उनले बुधबार युरोपियन युनियनहरुबीच ७५० बिलियन युरोको कोरोना भाइरस प्याकेजमा भएको सहमतिको स्वागत गरेका हुन् । कोरोना महामारीबाट प्रभावित क्षेत्रको उद्धार र राहतका लागि युरोपियन युनियनका नेताहरु उक्त राहत प्याकेजमा सहमति जनाएका हुन् ।

"युरोपियन युनियनका नेताहरु एक निकै ठूलो चुनौतीको सामना गर्नका लागि एक ठाउँमा आएर ऐतिहासिक सहमति गरेका छन् । कोरोना भाइरसले तहसनहस बनाएको युरोपियन मुलुकको अर्थतन्त्रलाई उकास्‍न भएको सहमतिको हार्दिक स्वागत छ," उनले भने ।

पाँच दिनसम्मको लगातारको छलफलपछि युरोपियन युनियनका नेताहरु उक्त सहमतिमा पुगेका हुन् । उनले थपे, "साझा चुनौतीलाई सामना गर्नका लागि सबै सदस्यहरु एक ठाउँमा आएर विश्वलाई नै उदाहरण प्रस्तुत गरेका छन् । भावनात्मक संकट भइरहेको यस समयमा विश्वलाई नै उनीहरुले साहस र परिपक्‍वताको उदाहरण प्रस्तुत गरेका छन् ।"

युरोपियन काउन्सिलका प्रमुख चार्ल्स माइकलले उक्त सहमतिलाई 'महत्वपूर्ण पल' को संज्ञा दिएका छन् । त्यसैगरी फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले पनि युरोपको ऐतिहासिक निर्णयको रुपमा व्याख्या गरेका छन् । कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको युरोपमा कोरोना संकटको चुनौतीविरुद्ध लड्न‍ एक ठाउँमा आएका हुन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech