राममन्दिर शिलान्यास र भूमी पूजनको अवसरमा जनकपुरधाममा दिपावली

  |   प्रकाशित :

जनकपुर । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माण हुन लागेकोमा जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले  खुशी व्यक्त गरेका छन् । 

खुशी व्यक्त गर्दै उनले ५ अगस्त अर्थात श्रावण २१ गते दिपावली मनाउन जनकपुरधामवासीलाई विशेष आग्रह समेत गरेका छन् । त्यो दिन घर–घरमा रामस्तुति र भजन किर्तन गर्न समेत उनले समस्त मिथिलावासीलाई आह्वान गरे ।

उनले कोरोना महामारीका कारण अयोध्यामा राममन्दिर शिलान्यास र भूमी पूजनको अवसरमा जानकी मन्दिरको प्रतिनिधि भने सहभागी हुन नसक्ने बताए । महन्तदासले भने– ‘कोरोना महामारीको कारण आफूहरु भूमि पूजनमा सहभागी नभएपनि म अवधवासीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थानबारे दिएको अभिव्यक्तिको खण्डन पनि गरेका छन् । वैष्णवले कुनै व्यक्ति विशेषले चाहँदैमा सामाजिक, सांस्कृतिक र मौलिक परम्परामाथि हस्तक्षेप गर्न नसक्ने बताए ।

वैष्णवले प्रधानमन्त्री ओलीको नाम नलिइकनै उनीतर्फ ईंगित गर्दै भने-‘कुनै व्यक्ति विशेषले चाहँदैँमा सामाजिक, सांस्कृतिक र मौलिक परम्पराको इतिहासमाथि हस्तक्षेप गर्न सक्दैन । सांस्कतिक र धार्मिक परम्पराअनुसार नै सिताको घर जनकपुरधाम हो र रामको घर भारतको अयोध्या नै हो ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech