कोरोना महामारीबीच चीनले नेपाललाई साथ दिएन, ऋण तिर्ने भाका सार्ने प्रस्ताव अस्वीकार गर्दै पठायो यस्तो कडा जवाफ !

  |   प्रकाशित :

काठमाडौं । नेपालको प्रस्ताव चीनले अस्विकार गरेको छ । 

ऋण तिर्ने म्याद सार्ने नेपालको प्रस्ताव चीनले अस्विकार गरेको हो । नेपालको प्रस्तावलाई अस्विकार गर्दै चीनले अहिलेलाई भाका सार्न र ब्याज मिनाहा दुवै गर्न नसकिने जवाफ दिएको जनाएको छ।

सरकारलाई अहिले १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ ऋण रहेको छ। त्यसमध्ये आन्तरिक ऋण ५ खर्ब ९४ अर्ब १८ करोड रहेको छ। यो ऋण नेपाली बैंकहरुबाट नै उठाइएको हो। यसको ऋण तिर्ने अवधि १ वर्षदेखि १० वर्षसम्म छ। त्यस्तै, वैदेशिक ऋण ७ खर्ब १८ अर्ब ५३ करोड छ।

पछिल्लो समय सरकारले कोरोना महामारीका कारण दातृराष्ट्र र अन्तर्राष्ट्रिय निकायबाट लिएको ऋणको सावाँ तथा ब्याज भुक्तानी गर्ने मिति परिवर्तन गर्न ती देश र निकायसँगको छलफललाई तीव्रता दिएको छ।

द्विपक्षीय सहयोगी राष्ट्रहरुले भने सरकारी पहलका बाबजुद यसमा सकारात्मक प्रतिक्रिया दिएका छैनन्। चीन, भारत, अमेरिकाजस्ता देशसँग अर्थ मन्त्रालयले छलफल गरिसके पनि उनीहरुले सकारात्मक प्रतिक्रिया दिएका छैन । भारत र अमेरिकाले यसबारे कुनै निर्णय नै गरेका छैनन्।

तर चीनले भने अहिलेलाई भाका सार्न र ब्याज मिनाहा दुवै गर्न नसकिने जवाफ दिएको छ। अर्थ मन्त्रालयका एक अधिकारीले दिएको जानकारीअनुसार चीनले यसबारे लिखित जवाफ नै बुझाएको हो । देशभित्रको कर्जा र ब्याज तिर्ने भाका सार्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको सरकारले सोसम्बन्धी कार्यविधि समेत बनाइसकेको छ तर आफैँले विदेशबाट लिएको ऋण तथा सहयोगको भने भाका सार्ने विषयमा अहिलेसम्म निर्णय गराउनसकेको छैन।

अर्थ मन्त्रालयका अनुसार उक्त विषयमा सहयोगी देश र निकायहरुसँग छलफल भने भइरहेको छ। म्याद अवधि सार्न अर्थमन्त्री डा। युवराज खतिवडा आफैँले वैदेशिक ऋणको सावाँ-ब्याज भुक्तानीको समय केही वर्ष पर सार्न आग्रह गरिरहेका छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech