बादलको कदमले प्रधानमन्त्री ओली फेरि संकटमा, प्रचण्ड-वामदेवले अब के गर्लान ?

  |   प्रकाशित :

काठमाडौं: गृहमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादलले आफ्नो लाइन क्लियर गरेका छन्।

बादलले भर्खरै आफ्नो गुट भेला गरेर आफू माओवादीबाट आएकाले अन्तिम समयसम्म अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रहेको स्पष्ट पारेका छन्।

आफूपक्षीय २६ जना नेतालाई बोलाएर बादलले पार्टीभित्र, सरकार र देशमै आउनसक्ने दुर्घटना टार्न आफू ओलीसँग नजिकिएको तर यदि केहीगरी पार्टी फुटिहाले प्रचण्डसँगै रहेको ब्रिफिङ गरेका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार बादलले बहुमतले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन सक्ने तर त्यसले पार्टी फुटाउने भएकाले फुट जोगाउन आफू ओलीसँग नजिकिएर प्रयास गरिरहेको भनाई राखेका थिए।

ओलीलाई बहुमतले हटाउन खोजे संसद विघटन गर्ने, मध्यावधि निर्वाचन गर्ने, राष्ट्रपति शासन लगाउने जस्ता कदम चाल्न सक्ने खतरा भएको र यो पार्टी तथा सरकारका लागि मात्र नभई देशकै लागि प्रत्युत्पादक हुने भन्दै उनले नेताहरुलाई कन्भिन्स गर्न खोजेका थिए।

पछिल्लो समय बादल प्रचण्ड गुट छाडेर ओली गुटमा समावेश चर्चा भइरहेका बेला बादलले आफनो पोजिशन क्लियर गरेका हुन्। उनले धेरै कुरामा आफ्नो ओलीसँग असहमति भए पनि पार्टी एकता जोगाउनुपर्छ भनेर सहेर बसेको सुनाए।

असहमतिको एक विषय एमसीसीलाई उनले उदाहरणका रुपमा प्रस्तुत गरेका थिए। प्रधानमन्त्रीले एमसीसी जसरी पनि हुबहु पास गर्नुपर्छ भनेर लागेको तर त्यो गलत भएको उनले बताए। अन्य प्रतिगमन खाले विषयमा पनि ओलीलाई साथ दिन नसकिने उनको भनाई थियो।

पार्टी एक भएर अघि बढ्ने शर्तमा प्रधानमन्त्रीको राजीनामा नमाग्ने, तर फुटेर जाने स्थितिमा प्रतिगमनकारीको पछि नलाग्ने बताएका बादलले आफू अन्त्यमा आफ्नै प्रचण्ड समूहमा रहेको स्पष्ट पार्न खोजे। सहभागी नेताहरुले बादललाई निर्णायक अवस्थामा पूर्वमाओवादी धारमै रहनुपर्ने सुझाव दिएका थिए।

बादलको समूहले आफ्नो पोजिशन क्लिय गरेसँगै प्रधानमन्त्री ओली फेरि संकटमा परेका छन्। बादललाई आफ्नो समूहमा देखाइरहेका ओली पुन: अल्मलतमा परेका छन्। फुटको स्थिति सिर्जना गरे ओलीले बादलको साथ पाउनेछैनन्।

बादल समूहले उपाध्यक्ष वामदेव गौतमले लिएको मध्यमार्गी लाइनलाई समातेको छ। वामदेव पनि ओलीले पार्टी फुटाउन भनेर मध्यामार्गी लाइन लिएर बसेका छन्। बादलको लाइन क्लियर भएपछि अब पुष्पकमल दाहालले कस्तो कदम चाल्छन् त्यो हेर्न बाँकी नै छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech