काठमाडौं उपत्यका पनि कोरोना संक्रमणको भयंकर जोखिममाः डा. दिक्षित

  |   प्रकाशित :

काठमाडौं । चिकित्सक डा. सुन्दरमणि दिक्षितले काठमाडौं उपत्यका पनि अहिले कोरोना संक्रमणको भयंकर जोखिममा परेको बताएका छन् ।  

उनले भने,‘काठमाडौं खाल्डो कोरोना संक्रमणको जोखिममा परिसकेको छ । अब हामीले परीणाम देख्दै जान्छौं ।’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक कदम चाल्न नसकेको भन्दै उनले गुनासो पोखेका छन् ।

आफूहरुले यसअघि सरकारलाई सावधानी अपनाउन र कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सुझाव दिएको भएपनि सरकारले भारतसँगको सिमा नाका बन्द नगरेको पनि गुनासो पोखे । उनले भने,‘अहिले स्वास्थ्यकर्मीहरु काम छोडेर भागेको भन्ने कुरा आएको छ। तराईमा कोरोना संक्रमण ठूलो मात्रामा देखिएको छ । भारतसँगको सिमा नाका पूर्ण रुपमा बन्द गर्नुपर्छ भनेर हामी धेरैपटक चिच्याऔं । तर, सरकारले हाम्रो कुरै सुनेन ।’

उनले कोरोना संक्रमण रोगमा परीणत हुँदै गएपछि मात्रै कदम चाल्दा ढिलाई हुने भन्दै नेपालमा कोरोनाको जोखिम निम्त्याउने कामपनि सरकारले नै गरेको गम्भीर आरोप लगाए । उनले भने,‘सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सकेन् । पिसिआर टेस्ट जब बढाउनुपर्नेथियो, त्यतिबेला सरकारले परीक्षणको दायरा नै घटायो । हामीले त बारम्बार परीक्षणको दायरा बढाउ भनेर सरकारलाई भनेकै थियौं । तर, सरकार गम्भीर भएन् ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech