कैलाली । सेती अञ्चल अस्पतालका १५ जनामध्ये १३ जना डाक्टर संघीय सरकार मातहतका अस्पतालमा समायोजन भएपछि अस्पताल नै चिकित्सकविहीन हुने अवस्थामा पुगेको छ ।
अस्पतालमा २ जना मात्र सरकारी डाक्टर रहने भएपछि अस्पताल चलाउनै मुस्किल हुने भएको छ । स्थापनाकालदेखि नै दरबन्दी अनुसारका डाक्टर नपाएको सेती अञ्चल अस्पतालमा रहेका अधिकांश डाक्टरको संघीय सरकार मातहतमा रहेका अस्पतालमा समायोजन भएपछि अस्पताल डाक्टरविहीन जस्तै हुने छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको समायोजन अनुसार सेती अञ्चल अस्पतालमा २ जना मात्रै डाक्टर रहने छन् । १० औँ तहका डाक्टर खगेन्द्र भट्ट र ९ औँ तहका डाक्टर जगदिश जोशीको मात्रै सेती अञ्चल अस्पतालमा समायोजन भएको छ भने अन्य सवै सरकारी डाक्टरको संघीय मातहत रहेका अस्पतालमा समायोजन हुने भएको छ ।
सेती अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याइएको छ, तर सवै डाक्टरको सरुवा भने संघीय सरकारको मातहतमा रहेका अस्पतालमा गरिएकाले अस्पतालको झनै बिजोग हुने भएको हो । सरकारले गरेको समायोजनले सेती अञ्चल अस्पतालको भविष्य नै संकटमा पारेको तर्क चिकित्सकहरुको छ । समायोजनको विरोध गर्दै चिकित्सकहरु आन्दोलित रहेका छन् ।
स्थापनाकालदेखि नै चिकित्सक, जनशक्ति र पूर्वाधारको अभाव झेल्दै आएको सेती अञ्चल अस्पताल झन् समस्यामा परेको छ । त्यसमाथि चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीलाई अझ सास्ती भएको छ ।