जनकपुरधाम । जनकपुरधाममा १५ दिवसीय जानकी नवमी महोत्सव राम कथा वाचनकासाथ विधिवत रूपमा सुरू भएको आजदेखि सुरू भएको छ।
जानकी नवमी महोत्सवको पहिलो दिन आज राम कथा प्रवचन, नवाह रामायण पाठ र साँझमा बधाइ मंगलगानको कार्यक्रम रहेको छ। यो महोत्सव वैशाख ३० गतेसम्म चल्ने छ।
जानकी जन्म महोत्सवको विशेष कार्यक्रम वैशाख ३० गतेदेखि सुरू हुने महन्थ राम रोशन दासले जानकारी दिएका छन्। महोत्सवलाई मौलिक र साँस्कृतिक पर्वको रूपमा मनाउन सबैलाई उनले आग्रह समेत गरेका छन्। महोत्सवमा राम कथाका लागि वृन्दावन उत्तर प्रदेश भारतबाट वाल व्यास संत हरिशरण उपाध्यायलाई बोलाइएको छ।
जानकी नवमीमा शोभा यात्रा, दुधमती शाही स्नान, रामायण मेला, राम र सीतालाई केन्द्रित गरी कवि गोष्ठी , रामायणमा आधारित प्रश्नोत्तर प्रतियोगिता, मिथिला चित्रकला सम्बन्धी प्रदर्शनी, प्रादेशिक भाषाको साँस्कृतिक कार्यक्रमसहितको कार्यक्रमहरू गरिने जानकी मन्दिर प्रशासनले जनाएको छ ।
जानकी नवमी महोत्सवका लागि जानकी मन्दिरलाई भव्य रूपमा सजाउने कार्यहरू भइरहेको छ। जानकी नवमी महोत्सव सुरू भएसँगै श्रद्धालुहरूको घुइँचो समेत जानकी मन्दिरमा बढेको छ।