काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ ।
कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आउँदो भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ’, उनले भने, ‘तर अहिले फेरि सङ्क्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ ।’ त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ ।
परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको जानकारी दिए । ‘कस्तो अवस्थामा परीक्षा गर्ने नगर्ने भन्ने जिम्मा डीन कार्यालयलाई दिएका छौँ’ उनले भने, ‘ सामान्य अवस्था भए पनि डीन कार्यालय नै परीक्षाको तयारी गर्ने छ ।’
भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि विद्यार्थी काठमाण्डौ आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ ।