काठमाडौं । आज तीजको दर खाने दिन । कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले घरमै मनाउनुपर्ने भएको छ । भोलि बस्ने व्रतको अघिल्लो दिन आज खीर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दूध घिउबाट बनेका परिकार दरका रुपमा खाने परम्परा छ ।
ठाउँअनुसार कतै बेलुका अरु चीज नखाएर दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । तीजमा धेरै महिला व्रत बस्ने गरे पनि पहिलेजस्तो निराहार व्रत बस्ने चलन भने हराउँदै गएको छ । दर खानको लागि चेलीबेटीलाई माइत बोलाउने चलन भए पनि यो वर्ष कोरोनाका कारण चेलीबेटी आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन् ।
अहिले भिडभाड गर्दा कोरोनाको संक्रमण बढ्ने भएकाले भोलि पनि आफ्नै घरभित्रै रमाइलो गरेर मनाउनुपर्नेछ । यस्तै तीजका दिनमा खुल्ने काठमाण्डौको पशुपति मन्दिरलगायत पनि बन्द हुने भएका छन् ।