काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ८ जनाविरुद्ध मुद्दा चल्ने भएको छ ।
म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ८ जनाविरुद्ध राज्यविरुद्धको कसूर र राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चल्ने भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाले पक्राउ गरेका ८ जना व्यक्तिलाई दुई वटा मुद्दामा कानूनी कारबाही प्रक्रिया अघि बढाइने भएको हो ।
पक्राउ परेकामध्ये एक जना क्यामरा पर्सन संलग्नता नपाइएपछि छुटेका छन् । कानूनतः कसूर पुष्टि भए राज्यविरुद्धको कसूर पुष्टि भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । दफा १५१ अनुसारको कसूर पुष्टि भए तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्छ ।
गायक तथा मोडल मकवानपुरका ज्ञाल्जेन दोर्जे तामाङ भन्ने रोजितकुमार तितुङ, मोडल काभ्रेका लावाङ तामाङ भन्ने रोजित कुमार तितुङ, लावाङ तामाङ, प्रयास भन्ने चलाकमान तामाङ, भिडियो इडिटिङ गर्ने सञ्जय भन्ने हुतबहादुर तामाङ, कमलकुमार लामा तामाङ, गायक तथा मोडल १८ वर्षीय किशोर, भिडियोग्राफर सिन्धुपाल्चोकका सञ्जितकुमार घिसिङ र गायिका दोलखाकी अरुणा थामीलाई प्रहरीले पक्राउ गरेको थियो ।