काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुदृढ हुँदै गएको बताएका छन् ।
एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंरै सोल्टी होटलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुदृढ हुँदै गएको बताएका हुन् ।
साथै, श्रृंगलाले नेपाल र भारतबीचको सम्बन्धका चारवटा खम्बाको रुपमा निश्चित क्षेत्रहरुलाई औल्याएका छन्। ती क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने उनको धारणा छ। उनले विकास सहायता, अझ मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार र आर्थिक परियोजनाहरु नेपाल र भारत सम्बन्धका चार खम्बा भएको बताएका हुन्।
उनले भारतले नेपालमा आफ्ना कार्यक्रमहरु चयन गर्दा नेपालको प्राथमिकताका आधारमा काम गर्ने स्पष्ट पारेका छन्। प्रधानमन्त्री मोदीको ६ वर्षपहिले प्रधानमन्त्रीको रुपमा भएको पहिलो नेपाल भ्रमणपछि नेपाल भारतबीच बिभिन्न तहका बैठक र संयन्त्रहरु नियमित र थप क्रियाशिल भएको उनले बताए।
नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्ध र आपसी हितलाई मध्यनजर गरेर द्विपक्षीय सहायता तथा सहकार्यलाई अघि बढाइने भारतीय विदेशसचिव श्रृंगलाले बताए। उनले नेपाल र भारत दुवै देशका नयाँ पुस्ताको आकांक्षा अनुसार डिजिटल टेक्नोलोजीमा पछिल्ला वर्षमा विकासलाई आत्मसात् गर्दै दुई पक्षीय सहकार्यलाई विकास गर्दै लैजानुपर्ने उनको धारणा थियो।