काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा बताएका छन् ।
पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन ओलीले तयार पारेको प्रतिवेदनमा नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने उल्लेख रहेको एक नेताले बताए । दाहालले लगाएको आरोपको खण्डन गर्दै प्रतिवेदन तयार पारेका प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीको नेतृत्व लिन नयाँ पुस्ता सक्षम भइसकेकाले सहज ढंगले हस्तान्तरण गर्ने विषयलाई जोड दिएको उनी पक्षका एक नेताले बताए ।
ओलीले दाहाल र माधवकुमार नेपाललाई रोक्न यो जुक्ति निकालेको जनाइएको छ । ओलीले सचिवालयमा प्रस्तुत गर्ने सो प्रतिवेदनबारे आफ्नो टिमका नेताहरूसँग लामो छलफल गरेका छन् । ती नेताका अनुसार फर्जी विषय उठान गरेर आरोप लगाउने कुरा छैन तर आरोपको खण्डन भने यथार्थपरक ढंगले हुन्छ ।
पार्टी नेतृत्वका हिसाबले एकताको प्रमुख शक्ति ओली हो भने दाहालले सहायक शक्तिका हिसाबले पार्टीमा प्रतिनिधित्व गर्ने प्रेस सल्लाहकार थापाले बताएका छन । गएको संसदीय चुनावमा प्रत्यक्षतर्फ प्राप्त सिट संख्या हेर्ने हो भने ७१ सिट ओली र २९ सिट प्रचण्डसँग हो । मतका हिसाबले हेर्ने हो भने ३३ लाख र १३ लाख छ । त्यसकारण दाहालमा गलत प्रवृत्ति देखा पर्दा अभिभावकीय भूमिका निर्वाह गर्ने दायित्व पनि प्रधानमन्त्री ओलीमा हुने जनाइएको छ ।