Logo

आइतवार, माघ ४ गते २०७७

मन्त्रीबाट हटाउने तयारी गरेपछि ओलीको ‘चाकरी’मा बादल, गृह मन्त्रालयमा हावी हुँदै ईश्वर पोखरेल

मन्त्रीबाट हटाउने तयारी गरेपछि ओलीको ‘चाकरी’मा बादल, गृह मन्त्रालयमा हावी हुँदै ईश्वर पोखरेल

नेपालपाना मंसिर २३ २०७७
  • 5.2K
    SHARES
  • मन्त्रीबाट हटाउने तयारी गरेपछि ओलीको ‘चाकरी’मा बादल, गृह मन्त्रालयमा हावी हुँदै ईश्वर पोखरेल

    काठमाडौं । गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलको भूमिका पार्टी र सरकारमा हालसम्मकै कमजोर देखिएको छ। सुरुवात राम्रो गरे पनि बादल पछिल्लो समय प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट पेलिएका छन्। अवस्था यस्तो आइसक्यो कि बादल ओली र ईश्वरले जे जे गरे पनि चुपचाप छन्। साथै ओली जतिबेला पनि हटाउन सक्ने खतरा महसुस गरेर प्रतिरक्षामा लागेका छन्। गृह मन्त्रालयमा पनि ईश्वरको हालीमुहाली हुँदा चुपचाप छन्। प्रतिवाद गरेका छैनन्। बाहिरबाट हेर्दा सचिवालयमा ओलीपट्टी देखिने र कहिलेकाही भने प्रचण्डतिर लाग्ने बादल पछिल्लो समय पार्टी विवाद उत्कर्षमा पुग्दा सरकारमा पनि खुम्चिएका हुन्। 

    पछिल्लो पटक शनिवार बसेको सचिवालय बैठकमा बादलले ओलीको पक्षमा प्रस्ताव गरे। उनले ओली र प्रचण्डको दुबै राजनीतिक दस्तावेजलाई मिलाएर सहमतीमा संयुक्त दस्तावेज बनाउन प्रस्ताव गरे। जुन आश्चर्यजनक थियो। ईश्वर पोखरेल, विष्णु पौडेलले तत्काल समर्थन गरे पनि वामदेवले कडा विरोध गरे। वामदेवलाई बहुमत सदस्यले समर्थन गरेपछि बादलको प्रस्ताव तुहियो। बादल कति कमजोर भइसकेका छन् भन्ने यो एउटा उदाहरण मात्रै हो। खासमा उनलाई मन्त्री पदबाट हटाउने भन्ने गाइगुई चलेपछि बादलले ओलीको बचाउमा सचिवालयमा प्रस्ताव लगेको स्रोतहरुबाट बुझिएको छ। बादल कसरी मन्त्री पद जोगाउने ध्याउन्न लागेका छन्। 

    गृहमा ईश्वरको हालीमुहाली

    त्यसो त प्रधानमन्त्रीबाट खतरा महसुस गरेका बादललाई ईश्वरले पनि पेल्न थालेका छन्। हालै नेपाल प्रहरीमा ईश्वर पोखरेलले आफ्ना भाई विश्वराज पोखरेललाई भावी आइजीपी बनाउन मनोमानी रुपमा चोरबाटोबाट एआईजी पद थपेर बढुवा गरे। एआईजी थप्ने र कसलाई बढुवा गर्ने भन्ने क्षेत्राधिकार गृह मन्त्रालयको हो। तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी पाएका र मन्त्रिपरिषद्को प्रशासनिक समितिका संयोजक रहेका ईश्वरले गृहलाई क्रस गर्दै एकलौटी रुपमा एआईजी थपेका छन्। यसमा बादलले प्रतिवाद गर्नुपर्नेमा उनी निरिह छन्। पार्टीभित्र ईश्वर र बादलको हैसियत एउटै हो। पार्टीमा पनि गृह भनेको ठूलै हैसियत हो। तर समान हैसियत भएको ईश्वरले हस्तक्षेप गर्दा बादल निरिह छन्।  

    ईश्वरले गृहमन्त्रालयको प्रस्ताव विना नै एआईजी थप्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका हुन्। पोखरेलको प्रेसरमा मन्त्रिपरिषद्लाई छलेर कात्तिक २७ को मन्त्रिपरिषद् निर्णयको पुछारमा निमित्त मुख्य सचिवमार्फत एआईजी दरबन्दी थप्ने निर्णय थपिएको स्रोतले जानकारी दिएको छ। यो निर्णय बादलले मिडियाबाट थाहा पाए। जानकारहरुका अनुसार यो थाहा पाउने वित्तिकै बादलले इमान भए पदबाट राजीनामा दिनुपर्ने हो। तर उनी पद जोगाउन प्रधानमन्त्रीको चाकरीमा लागेका छन् भने अर्को मन्त्रीले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गर्दा निरिह छन्।
     
    त्यसो त आफ्नो विभागीय मन्त्रालयमा ईश्वरले हस्तक्षेप गरिरहेको कुरामा बादल जानकार छन्। तर प्रतिक्रियाविहीन छन्। आफ्नो भूमिका खुम्चिँदा पनि बोलेका छैनन। प्रतिवाद गरेका छैनन्। कोभिड महामारीमा विपद व्यस्थापनको जिम्मा गृहबाट सारेर रक्षा मन्त्रीलाई दिइयो। त्यसमा पनि बादल प्रतिक्रिया विहिन रहँदै सहे। 

    पार्टीको मुख्य कमाण्डिङ निकाय सचिवालय सदस्य भए पनि उनको भूमिका प्रभावकारी छैन। बरु भ्रष्टाचार गर्दिन गर्न दिन्न भनेर भ्रष्टाचारको संरक्षण गरिरहेका प्रधानमन्त्री ओलीको चाकरीमा लागेका छन्, त्यो पनि मन्त्री पद जोगाउन। उनी पार्टी सरकार जनताभन्दा पनि आफू कसरी जोगिने भन्नेमा केन्द्रीत भएको उनका निकस्थ बताउँछन्। यसैकारण उनका समर्थक पनि निराश छन्।

     

    मंसिर २३, २०७७ मंगलवार ०७:५५:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana