Logo

बिहिवार, माघ १५ गते २०७७

राष्ट्रिय संकल्पको खाँचो

राष्ट्रिय संकल्पको खाँचो

नेपालपाना मंसिर २४ २०७७
  • 432
    SHARES
  • राष्ट्रिय संकल्पको खाँचो

    राष्ट्रको विकास, समुन्नति, स्थिरता, सुशासन र अग्रगमनको लागि सबै नेपालीहरुको माझमा एकता, इच्छाशक्ति, लक्ष्य, उद्देश्य, परिकल्पना, नीति, रणनीति र आम सहमतिको आवश्यकता पर्छ । दलगत स्वार्थलाई त्यागी राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेमा मात्र नेपालको विकास र समृद्धिको सपना टाढा छैन् । हाम्रो मान्छे, राम्रो मान्छे नभनेर राम्रो मान्छे नै हाम्रो मान्छे हुन्छ भनी सरकारका हरेक अङ्गमा नियुक्ति गरेमा राष्ट्रिय सम्वृद्धिको गोरेटो दर्विलो हुन सक्छ । सुन्दर नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन राष्ट्रिय सङ्कल्पको खाँचो भई सकेको छ । हामी नेपालीले नेपालको लागि नसोचे कहाँको लागि सोच्ने ? वर्तमानमा नसोचे कहिले सोच्ने ? आजै बाट प्रण गर्ने हो की ?

    नेपाली जनताले अपेक्षा गरेको राष्ट्रिय स्थिरता र सुशासनमा यतिखेर ठुलो संकट सृजना भएको छ ।नेपाली जनताको सदियौ वर्ष पुरानो आशा, भरोसा र विश्वासमा कालो बादलको धब्बा मडारिएको छ ।

    नेपालको राजनैतिक मञ्चमा आसिन राजनीतिक दलको क्रियाकलाप,गतिविधि र दक्षतामा प्रश्न चिन्ह खडा भएको छ । नेपालका प्रमुख राजनैतिक पार्टीको गतिविधि देखेर नेपाली जनता मणि झिकिएको नाग जस्तै भएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलन २००७ साल देखि २०६२ र ६३ को आन्दोलनसम्म साथ र समर्थन दिएका नेपाली जनता अहिले रणभुल्लमा परेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनबाट बनेका हरेक सरकारमा प्रत्यक्ष वा परोक्ष रुपमा सहभागि कम्युनिस्ट पार्टीको प्रष्ट बहुमतको वर्तमान सरकारको असली रूप देखिएको छ । नेपाली जनतालाई मिठा र जोसिला भाषणले आकर्षित गर्ने नेपालका कम्युनिष्ट पार्टीको बास्तविक रूप र व्यवहार छर्लङ्ग हुदै गएको छ । आफूलाई सर्वहारा,मजदुर र किसानको प्रतीकको रुपमा लिने नेपाली कम्युनिस्ट पार्टीको राजनैतिक खिचातानीले नेपालको प्रजातान्त्रिक आन्दोलनको उपलब्धि नै धरापमा परेको छ ।

    नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले कोरोना महामारीलाई नियन्त्रण गर्न र नेपाली जनतालाई स्वास्थ्य उपचारको सुनिश्चितता दिनुको सट्टा यस महामारीलाई भ्रष्टाचार गर्ने सुनौलो अवसरको रूपमा लिएको छ । नेकपाले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरिएका प्रतिबद्धता केवल भाषणमा मात्र सिमित राखेको छ । २०७२ सालको संविधानको मर्म र भावनामा गंभीर चोट लागेको छ । नेपालको संविधानले निर्देशित स्थानीय तह,संघीय सरकार र केन्द्र सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । विश्व रंगमञ्चमा नेपाल भ्रष्टाचारीको देश भनी परिचित र परिभाषित भएको छ । सरकारका अङ्गहरु न्यायपालिका,कार्यपालिका र व्यवस्थापिका नै लर्बरिएको अवस्थामा छ । सरकार प्रमुखको सरकार सञ्चालन गर्ने तौर तरिका र विश्वासमा गहिरो संकट पैदा भएको छ । 

    राष्ट्रप्रमुख महामहिम राष्ट्रपतिको भूमिका विवादमा परेको छ । राष्ट्रपति राष्ट्रको पति, अभिभावक हुनुको सट्टा कुनै एक दलको आन्तरिक मामलामा सक्रिय भएकोले राष्ट्रपतिको महत्व र उचाई नै घटेको छ । सम्माननीय राष्ट्रपतिले नेकपाको आन्तरिक मामिलामा मात्र सक्रिय हुँदा वर्तमान राष्ट्रपति नेकपा पार्टीको केन्द्रीय सल्लाहकार हो की नेपाल र सारा नेपालीको राष्ट्रपति हो भन्ने आम मानिसमा जिज्ञासा पैदा गराएको छ । राष्ट्रपतिको गरिमामय पदको बेवास्था गरी दुरुपयोग गरिएको छ । सरकारले आफ्नो परराष्ट्र नीति र प्रोटोकलको उलङ्घन गरेको छ । नेकपाको आन्तरिक मामिलामा चिनीयाँ राजदूतको प्रत्यक्ष हस्तक्षेप देखिएको छ ।

    प्रधानमन्त्री केपी ओलीको सरकार जोगाउन र समर्थन जुटाउनमा सक्रिय भएकी छिन चिनीया राजदूत । यसले नेपालको असंलग्न परराष्ट्र नीतिको उलङ्घन भएको छ । कुनै एक देशको राजदूतलाई आफ्नो देशको मुख्य राजनैतिक दलले आफनो दलको विवाद, झगडा र सरकारको आन्तरिक मामिलामा प्रत्यक्ष चलखेल गर्न दिनुले राजनैतिक दलको विश्वसनीयता र सक्षमतामा नै प्रश्न चिन्ह खडा भएको छ ।

    ठूलो बलिदानीबाट प्राप्त नेपालको राजनैतिक उपलब्धिको अपव्याख्या भएको छ । नेपाली जनताका न्युनतम आवश्यकता स्वास्थ्य, शिक्षा, रोजगारको कुनै सुनिश्चितता हुन सकेको छैन् । लाखौं लाख नेपाली युवा आफ्नो सुन्दर भविष्यको सपना कोर्न अझैपनि अरवी मरूभूमिमा रगतसँग श्रम साट्न विवस भएका छन् । अरबी मरूभूमिमा कष्टकर श्रम गरी पठाएको रेमिट्यान्स खाएर नेपाली राजनैतिक दलका नेता किर्ना जस्तै उटुसमुटुस हुदै गएका छन् । चुनाबी समयमा नेपाललाई स्वीटजरल्याण्ड बनाइदिने र नेपाली जनतालाई यूरोप र अमेरिकाका जनता जस्तै सेवा सुविधा दिने बाचा र प्रतिबद्धता बालुवाको महल जस्तै भएको छ ।

    वर्तमान सरकारले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त बिर्सिएको अनुभूति भएको छ ।दुई महान शक्ति राष्ट्रहरूको बीचमा रहेको नेपालले दुवै शक्तिराष्ट्रको विकास,उन्नति र प्रगतिलाई आत्मसाथ गरेर त्यसको उपलब्धिलाई नेपालको विकास,प्रगति र अग्रगमनको लागि मार्गदर्शन लिनु जरुरी हुन्छ ।प्राकृतिक सम्पदाले विभूषित हाम्रो देशमा असंभव भन्ने केही छैन् । जलस्रोत, जडीबुटी, खनिज पदार्थ र पर्यटनको प्रचुर सम्भावना रहेको छ । समस्या आफैं एकलै मात्र आउँदैन समाधान साथ साथै ल्याएको हुन्छ पहिचान गर्न या छुट्याउन सक्नुपर्छ ।सम्भावना नै सम्भावनाको देशमा मात्र असल राजनैतिक चरित्रको खाँचो रहेको छ ।

    राष्ट्रको विकास ,समुन्नति, स्थिरता, सुशासन र अग्रगमनको लागि सबै नेपालीहरुको माझमा एकता, इच्छाशक्ति, लक्ष्य, उद्देश्य, परिकल्पना, नीति, रणनीति र आम सहमतिको आवश्यकता पर्छ । दलगत स्वार्थलाई त्यागी राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेमा मात्र नेपालको विकास र समृद्धिको सपना टाढा छैन् । हाम्रो मान्छे, राम्रो मान्छे नभनेर राम्रो मान्छे नै हाम्रो मान्छे हुन्छ भनी सरकारका हरेक अङ्गमा नियुक्ति गरेमा राष्ट्रिय सम्वृद्धिको गोरेटो दर्विलो हुन सक्छ । सुन्दर नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन राष्ट्रिय सङ्कल्पको खाँचो भई सकेको छ । हामी नेपालीले नेपालको लागि नसोचे कहाँको लागि सोच्ने ? वर्तमानमा नसोचे कहिले सोच्ने ? आजै बाट प्रण गर्ने हो की ? (लेखकः मञ्च सम्बद्ध संघीय लिम्बुवान पार्टीका नेता भानु भट्टराई)

    मंसिर २४, २०७७ बुधवार ०९:१४:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देश

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana