एजेन्सी । जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारदेखि अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेका हुन् ।
अहिले घोषणा गरिएको यो प्रकारको आशिंक लकडाउन कम्तीमा जनवरी १० तारिखसम्म रहने र त्यसपछि अवस्था हेरेर निर्णय गरिने पनि उनले स्पष्ट पारे । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा महामारी झन झन बढ्दै गएपछि त्यस क्षेत्रकै लागि चुनौती भएको छ ।
अर्थतन्त्रमा धेरै नकारात्मक असर परिरहेकाले कामदारहरूलाई घरबाटै काम गर्न पनि सरोकारवाला सबैलाई मर्केलले आग्रह गर्नुभएको छ । त्यसैगरी सार्वजनिक स्थलमा रक्सीको कारोबार गर्न पनि प्रतिबन्ध लगाइएको छ भने कपाल काट्ने ठाउँ पनि बन्द गर्न भनिएको छ ।
आंशिक लकडाउनका बारेमा र त्यसको व्यवस्थापनका बारेमा चान्सलर मर्केलले आइतबार १६ राज्यका नेताहरूसँग छलफल पनि गरेका थिए ।