काठमाडौं । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) असफलताको संघारमा पुगेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले मे २०१७ मा बीआरआई घोषणा गरेका थिए। राष्ट्रपति सीले ३० मुलुकका राज्यप्रमुख र १३० मुलुकका प्रतिनिधिसामु उभिएर बीआरआईलाई घोषणा गरेका थिए। तर, बीआरआई चाडै नै असफलताको संघारमा पुगेको हो ।
यो परियोजनाले खासगरी विकासशील मुलुकमा पूर्वाधार निर्माण गर्न १ ट्रिलियन डलर खर्चिने बाचा गरेको थियो। लगभग सम्पूर्ण रकम आफ्नै वित्तीय संस्थाबाट लगानी गर्ने चीनले बताएको थियो। ‘द इम्पेरर्स न्यु रोड’ पुस्तकका लेखक जोनाथन हिलम्यानका अनुसार यो रकम दोस्रो विश्वयुद्धपछि मार्सल प्लानमार्फत युरोपको पुनर्निर्माणमा अमेरिकाले खर्च गरेको रकमभन्दा सात गुणा बढी हो।
तर, यही साता प्रकाशित तथ्यांक हेर्दा बीआरआईको दृश्य निकै फरक देखिन्छ। सीले चाहेअनुसार यो योजना अघि बढिरहेको छैन। विश्वकै सबैभन्दा ठूलो विकास परियोजना भनिएको बीआरआई असफलतातर्फ बढिरहेको छ। र, यो चीनको पहिलो अन्तर्राष्ट्रिय ऋण संकटमा परिणत हुनसक्छ। चिनियाँ बैंकहरुले दिएको ऋण र संलग्न मुलुकको सहयोगले बीआरआईका परियोजना अघि बढेका थिए। तर अहिले चिनियाँ बैंकहरुले दिएको ऋण स्वाट्टै घटेको छ। त्यसैले बेइजिङ यतिबेला ऋणी मुलुकसँग पुनः छलफलमा अल्झिएको छ।
‘यो सबै उदाउँदो शक्तिका रुपमा चीनले लिँदै गरेको शिक्षाको एउटा पक्ष हो,’ वासिङ्टनस्थित सीएसआईएस नामक थिंक ट्यांकका वरिष्ठ अध्येता हिलम्यान भन्छन्, ‘चीनले गलत तरिका अपनाएको थियो। त्यो तरिका स्वदेशमा ठूला पूर्वाधार परियोजना निर्माणमा सफल भएको थियो। त्यसैले उसले हतारमा विदेशमा पनि लागू गर्ने प्रयास गर्यो।’