काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डलसँग हुम्ला सीमा विवादको विषय उठाएको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डल आज देउवा भेट्न बुढानिलकण्ठस्थित निवास पुगेको थियो । निवासमा पुगेको प्रतिनिधिमण्डललाई कांग्रेस नेताहरुले हुम्ला मुद्दा र त्यसबारे कांग्रेस नेताहरुलाई लगाइएको आक्षेपका विषयमा र्याखर्याख्ती पारेका थिए।
नेताहरुले आफ्नो पार्टी र नेतृत्वका विषयमा चिनियाँ पत्रपत्रिकामा आएका आक्षेपपूर्ण अभिव्यक्ति र टिप्पणीबारे चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको सरकारको धारणा के हो भनेर सोधेका थिए ।
जवाफमा पत्रपत्रिकाका विषयले नेपाल र चीन अथवा कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको सम्बन्धमा कुनै असर नपर्ने चिनियाँ प्रतिनिधिले बताएका थिए ।
भेटमा सहभागी कांग्रेसका नेता नारायण खड्काले हुम्लाको मुद्दाबारे सोधेका थिए । केही समयअघि हुम्लाको सीमा क्षेत्रमा चिनियाँ पक्षले अतिक्रमण गरेको समाचारसँगै कांग्रेस नेता जीवनबहादुर शाहीले स्थलगत अध्ययन भ्रमणपछि सीमा अतिक्रमण भएको प्रतिवेदन सार्वजनिक गरेपछि चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको सत्ताको मुखपत्रका रुपमा परिचित ग्लोबल टाइम्सले कांग्रेस र यसको नेतृत्वमाथि गम्भीर आक्षेप लगाएको थियो ।
उक्त पत्रिकाले कांग्रेस पार्टीलाई ‘प्रो–इण्डियन पार्टी’ भारत परस्त र यसका नेताहरुमाथि भारत र पश्चिमा मुलुकको उक्साहटमा चीनसँग सीमा विवादको विषय उठाएको भन्दै लेख प्रकाशित गरेको विषयमा नेता खड्काले कुरा उठाएको बैठकमा सहभागी पूर्व राजदूत तथा कुटनीतिज्ञ दिनेश भट्टराईले जानकारी दिए ।
चिनियाँ प्रतिनिधिमण्डलले कांग्रेस चीनको राम्रो मित्र भएको र दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले निर्वाह गरेको भूमिकाको चीनले सधैँ उच्च प्रसंशा गरेको बताएका थिए ।
कांग्रेसले पनि चीनसँगको समबन्धलाई बीपीले नै प्रयोग गरेको शब्द ‘प्यारामाउण्ट इम्पोटेन्स’ सर्वाधिक महत्वको सम्बन्धका रुपमा लिने सवालमा प्रतिबद्ध भएको जानकारी देउवा र खड्काले गराएका थिए ।
बीपीकै पालामा दुई देशबीचको सीमा विवाद समाधानका लागि भएको सहमतिकै आधार र परिणाम स्वरुप सन् १९६० को सीमा सम्झौता भएको तर, कहिले काँही चाइनिज मिडियाहरुमा नेपाल र नेपाली कांग्रेसप्रति जे जस्ता लेख, रचना र टिप्पणीहरु आउँछन् यसबारे चीन र चिनियाँ कम्युनिष्ट पार्टीको धारणा के हो? भनि कांग्रेस नेता खड्काले जिज्ञासा राखेका थिए ।
जवाफमा कहिलेकाँही असमझदारी उत्पन्न हुन सक्छ तर, दुबै देशका मित्रहरु बसेर वार्ता र सम्वादका माध्यमबाट त्यस्ता असमझदारीहरु हटाउन र देखिएका समस्या समाधान गर्न सकिन्छ नि भनि जवाफ दिएको भट्टराईले बताए ।
देउवालाई चीन भ्रमणको निम्तो
प्रतिनिधिमण्डलले सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणा दिएको छ । उपमन्त्री क्वोले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिएका हुन् ।
उपमन्त्री क्वोले कांग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताए ।