वीरगञ्ज। नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले विभाजित प्रचण्ड र माधव नेपाललाई नेकपामै फिर्ता आउन आग्रह गरेका छन् ।
वीरगञ्जमा ओलीपक्षले आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपाललाई पार्टीमा अझै ठाउँ रहेको भन्दै फिर्ता बोलएका हुन् ।
‘अहिलेपनि हामीले ठाउँ राखेका छौं, पार्टी एकता जोगाउन कोशिस गरेका छौं । उहाँहरुले गैर वैधानिक बैठक आयोजना गरेर प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाएको कुरा गर्नुभएको छ । प्रचण्डजीलाई हामीले अध्यक्षको कार्यकारी भूमिकाबाट मात्रै हटाएका छौं, अध्यक्षबाट हटाएका छैनौं, माधव नेपाल वरिष्ठ नेता नै हुनुहुन्छ’ उनले भने ।
नेकपाका नेता समेत रहेका पौडेलले विगतमा गरेको गल्ती सच्याउनुपर्ने र प्रचण्डले प्रधानमन्त्री ओली विरुद्ध पेश गरेको आरोपपत्र फिर्ता लिनुपर्ने बताएका छन् ।
‘प्रधानमन्त्रीले त्यसलाई प्रतिवाद गर्ने निश्चय गर्नुभयो र संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नुभयो । ताजा जनादेशमा जाने निर्णय राष्ट्रिय राजनीतिलाई नयाँ दिशा प्रदान गरेको छ । त्यसो गरेका थिएनौं, आत्मसर्मपण गरेका थियौं भने मुलुक अनैतिकता, अराजकता र उछृङ्खलता तर्फ जाने खतरा थियो’ उनले भने ।