काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रचण्ड-माधव नेपाल समूहको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति भएको र यो सफल नहुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, “ढाडमा टेकेर टाउकामा हान्ने रणनीति हिजो असफल थियो, अहिले पनि असफल हुन्छ र भोलि पनि असफल नै हुनेछ”, मन्त्री गुरुङले भने, “अहिलेको अवस्थामा राजनीतिक निकास चुनावबाट मात्र आउने भएकाले सबै राजनीतिक पार्टीहरु यसको तयारीमा लागौँ ।”
यसबाहेक उनले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाऔँ भन्ने असंवैधानिक कदम हुनै नसक्ने बताएका छन् । ताजा जनादेशमा जाने कुराले स्वतन्त्रता हनन भयो वा ‘कु’ भयो भन्नु सरासर गलत हो भने ।
उनले अहिलेको परिस्थितिमा नयाँ निर्वाचनमा जानुको कुनै विकल्प नभएको समेत बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, “मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशमा जाऔँ भन्नु कहाँको असंवैधानिक हो ?”