काठमाडौं। कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीमा पाइने बहुमूल्य जडीबुटीको सङ्कलन, प्रशोधन र व्यापारबाटै प्रदेशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएका छन् ।
राष्ट्रिय योग दिवसका अवसरमा प्रदेश आयुर्वेद औषधालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले योग, ध्यान तथा आयुर्वेदका लागि कर्णाली प्रदेश उपयुक्त रहेको बताए ।
प्रदेश प्रमुख कलौनीले यार्सागुम्बा, शिलाजित, पखानवेद, चिराइतो, दालचिनी, शिलटिमुर, हर्रो, बर्रो, गुर्जो, लेकतीतो जस्ता यहाँका मूल्यवान जडीबुटीको सङ्कलन, प्रशोधन र व्यापारका माध्यमबाट कर्णालीवासीले आर्थिक उन्नति हासिल गर्नसक्ने धारणा राखे ।
बहुमूल्य जडीबुटी सडेर खेर गइरहेकोतर्फ सङ्केत गर्दै उनले भने, “यसका लागि तीन वटै तहका सरकारले जडीबुटीलाई आर्थिक उपार्जनसँग जोड्ने योजना ल्याउनुपर्छ, तबमात्रजनताको जीवनस्तरमा केही सुधार आउन सक्छ ।”
उनले योग र ध्यानका लागि नेपाल पवित्र तपोभूमि रहेको भन्दै यही भूमिमा ऋषिमुनि तथा वैद्यले जप, तप, ध्यानका माध्यमबाट नयाँ ज्ञान प्राप्त गरेको ऐतिहासिक सन्दर्भ उल्लेख गरे ।
“योगले शरीर स्वस्थ राखी रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले नियमित योगाभ्यासबाट विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस–१९ र अन्य रोगविरुद्ध लड्न मद्दत गर्छ”, उनले भने, “योग र ध्यानका माध्यमले शरीरलाई स्वस्थ बनाउने हाम्रा पूर्वजको खोज, अनुसन्धान र व्यवहारबाट प्रमाणित भइसकेको तथ्य हो, यसलाई आधुनिक चिकित्सा पद्धतिले पनि स्वीकार गरिसकेको छ ।”