काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गरेपछि निकै नै आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकटको अवस्था सिर्जना हुनसक्ने बताएका छन् ।
ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने सभापति देउवाले बताएका हुन् ।
पर्वतको फलेबास नगरपालिका–शंकरपोखरीमा शहीद हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई बिहीवार सम्बोधन गर्दै सभापति देउवाले भने, ‘प्रतिनिधिसभा विघटनको मुद्दा सदर भयो र बैशाखमा निर्वाचन भएन भने जनताले अब ओलीलाई छोड्दैनन् । उनी नेपाल देशमा बस्न सक्ने स्थिति रहँदैन,’ सभापति देउवाले भने ।
सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले अदालतलाई नै प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।
देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाए । ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’ सभापति देउवाले सोधे ।