काठमाडौं। नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर दिल्ली उडेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फकिएका छन् ।
मन्त्री ज्ञवाली भारतीय प्रधानमन्त्री मोदीलाई नभेटेरै स्वदेश फर्किएका हुन् । परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली पुगेका उनको प्रमुख कार्यक्रममध्ये प्रधानमन्त्री मोदीलाई पनि भेट्नु थियो । तर मोदीको समय नमिलेको परराष्ट्र स्रोतको भनाइ छ ।
नेपालमा राजनीतिक संकट चुलिएका बेला भारतीय प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई नभेट्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला परराष्ट्र मन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा छ । मन्त्री ज्ञवाली स्वदेश फर्कनुअघिसम्म प्रधानमन्त्री मोदीसँग भेटका लागि समय मिलाउन प्रयासरत थिए ।