काठमाडौं । नेपालसँग गभर्नमेन्ट टु गभनर्मेन्ट ‘जीटुजी’ (सरकारी स्तरको) समझदारी गरेर रासायनिक मल बिक्री गर्न भारत सहमत भएको छ ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले राखेको मल खरिदमा जीटूजी गर्ने प्रस्तावमा भारतले सहमति जनाएको हो ।
हालसम्म सरकारले ग्लोबल टेण्डर मार्फत मल खरिद गर्दै आएको छ ।
तीन वर्षअघि नै भारतसँग मल खरिदका लागि जीटूजी मोडल प्रस्ताव गरेपनि अहिले बल्ल समझदारी बनेको हो ।
जीटूजीमा मल खरिदबारे भारतसँग भएको समझदारी कार्यान्वयन गर्न परराष्ट्रमार्फत कृषि मन्त्रालयलाई पत्राचार समेत गरिएको छ ।
भारतले कति परिमाणमा नेपाललाई मल उपलब्ध गराउने र त्यासको प्रक्रिया के हुने भन्नेबारे मन्त्रालयले प्रारम्भिक चरणको छलफल सुरु गरिसकेको बताएको छ ।
अन्तर्राष्ट्रिय बजारबाट नेपालले हरेक वर्ष करिब ९ अर्ब रुपैयाँ बराबरको ४ लाख मेट्रिकटन रासायनिक मल खरिद गर्छ । यसमा सरकारी स्वमित्वको कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत ३ लाख ५० हजार मेट्रिकटन अनुदानको मल खरिद हुन्छ ।
गत आर्थिक वर्षको बजेटमार्फत १५० लाख मेट्रिकटन रासायनिक मल खरिद गर्न ठेक्का पाएका नेपाली कम्पनीले मल ल्याउन नसकेपछि तत्कालीन कृषिमन्त्री घनश्याम भूसालले जीटूजीमार्फत मल खरिद गर्न भारत लगायतका मुलुकसँग छलफल थालेका थिए ।