Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

अन्तत देउवाकै लाइनमा आए ओली, दुबैको रिस एउटै!

अन्तत देउवाकै लाइनमा आए ओली, दुबैको रिस एउटै!

Nepal Pana फाल्गुण ९ २०७७
  • 6.3K
    SHARES
  • अन्तत देउवाकै लाइनमा आए ओली, दुबैको रिस एउटै!

    काठमाडौं । प्रतिनिधसभा विघटनपछि नेपाली कांग्रेस निर्वाचनको पक्षमा उभिएको छ । सबै दल तथा समूह आन्दोलनमा भए पनि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गर्दै निर्वाचनमा जान खोजिरहेका छन् । ओलीले वैशाख १७ र २७ का लागि निर्वाचन मिति तोकेका छन् । निर्वाचन ओलीलाई भन्दा बढी देउवालाई आवश्यक जस्तो देखिन्छ ।

    त्यसैले त फागुन ४ गते भैरहवामा आयोजित सभामा देउवाले चुनावको तयारी नगरेको भन्दै निर्वाचन आयोगप्रति आक्रोश पोखेका छन् ।

    प्रधानमन्त्री ओलीले ‘वैशाखमा चुनाव गर्छु–गर्छु’ भनेको तर निर्वाचन आयोगले तयारी केही नगर्दा आयोगले बदमासी गर्न सक्ने आशंका आफूहरूलाई भएको देउवाले सुनाए । ‘अहिलेसम्म चुनाव चिह्न दिएको छैन । किन चुनावको कार्यक्रम बाहिर निकाल्दैन ? चुनाव गराउने हो भने चुनावको प्रक्रिया किन सुरु गरेकै छैन ? संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्छ । चुनाव गराउनैपर्छ । निर्वाचन आयोगको काम त्यही हो । आयोग संविधानबाहिर जान सक्छ ?’ देउवाले भने, ‘निर्वाचन आयोगलाई यहींबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ । ओलीले वैशाखमा चुनाव गराउँछु–गराउँछु भनेका छन् तर आयोग किन भन्दैन ? निर्वाचन आयोग किन गर्छु भन्दैन ? निर्वाचन आयोगप्रति शंका गर्ने बेला भएको छ । पार्टीहरूलाई बोलाएर चुनावको कार्यक्रम किन दिँदैन ? अदालतको निर्णय चुनाव नगराउने आए बन्द गरे भइहाल्यो नि ! के बिग्रन्छ ? पर्खने काम छैन । आयोगको काम अदालतको निर्णय पर्खने होइन । आयोगले जनतालाई भन्नुपर्योब– ६ महिनाभित्र चुनाव गराउँछु–गराउँछु भनेर ।’

    देउवा यसरी निर्वाचन आयोगमाथि खनिएका बेला ३ दिनपछि प्रजातन्त्र दिवसका दिन प्रधानमन्त्री ओलीले पनि निर्वाचन आयोगप्रति असन्तुष्ट देखिए । निर्वाचनका लागि आयोगको तयारी राम्रो नदेखिएको उनको भनाई थियो ।

    ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा साँस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनका लागि तयारी राम्रो नदेखिएको र जनताले निर्वाचन आयोगको तयारी थाहा नपाएको उल्लेख गरे । निर्वाचन आयोगले जनताले थाहा पाउने गरी समयमै निर्वाचन गर्न तयारी गर्नुपर्ने पनि उनले जोड दिए । ‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिन अघि नै अब निर्वाचनको तयारी गर्नुस् भन्या छु । मैले अस्ति गएर सोधे, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन । केही भएको छैन । के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन । जनतालाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन । जनताले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै निर्वाचन गर्नेगरी, यहाँ कतिपय तत्वहरुले यो निर्वाचन घोषणा गरेको निर्वाचन गराउन होइन भन्ने आरोप लगाउन खोजेका छन् तर निर्वाचन गर्नका लागि र तोकिएकै मितिमा निर्वाचन गर्नका लागि निर्वाचनको मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्ने म चाहान्छु,’ ओलीले भने। 

    यसरी निर्वाचन आयोगको तयारीलाई लिएर देउवाकै लाइनमा ओलीले असन्तुष्टि जनाएका हुन् । आयोगको भूमिकाप्रति दुबै नेता रिसाएका हुन् ।

    फाल्गुण ९, २०७७ आइतवार १३:५३:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana