ढाका । बंगलादेशमा पनि सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप लगाउन सुरु गरिएको छ । भारत सरकारले बंगलादेशलाई पनि भ्याक्सिन मैत्री इनिसियटिभमार्फत कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो ।
खोप मैत्री पहलअन्तर्गत भारतले बंगलादेशसहित अन्य छिमेकी मुलुकहरूलाई खोप उपलब्ध गराएको हो । बंगलादेशलाई अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको सिरम इन्स्टिच्युटमा उत्पादन गरिएको सात लाख डोज खोप उपलब्ध गराइएको थियो । जसमध्ये दुई लाख डोज खोप भारतले उपहारस्वरुप अनुदान दिएको भने पाँच लाख खोप सिरम इन्स्टिच्युटसँग गरिएको सम्झौताको आधामार उपलब्ध गराइएहो हो ।
स्वास्थ्य मन्त्री जाहिद मालेकले आइतबार बिहान ढाकाको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) मा एक भर्चुअल कार्यक्रम गर्दै उक्त अभियानको सुरुवात गरेका थिए ।
मालेकले यो खोप सुरक्षित भएकोले यसको गलत प्रचार नगर्न पनि उनले आग्रह गरेका छन् । उनले भने, "यो खोप सुरक्षित छ र प्रभावकारीसमेत छ । त्यसैले यसको गलत प्रचारप्रसार नगर्नु होला ।"
“खोप अभियान वर्षभरि जारी रहनेछ। अनलाइन रेजिष्ट्रेसन बाहेक खोप प्राप्त गर्न अर्को प्रक्रिया छ । व्यक्तिहरूले खोप केन्द्रहरूमा नाम दर्ता गरेपछि तुरुन्तै पनि खोप लिन सक्छन्,” उनले थपे ।