काठमाडौं। दुई समूहमा विभाजन भएको नेकपामा तटस्थ बस्ने एक जनामात्र शीर्ष नेता थिए उपाध्यक्ष वामदेव गौतम ।
उनी न केपी ओली समूहमा लागे न प्रचण्ड-नेपाल समूहमा नै । बरु राष्ट्रियता एकता अभियान लिएर अगाडि बढे ।
पार्टीका केही मान्छेलाई अभियानमा ल्याउन सफल पनि भए । तर प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै वामदेव अब एकता अभियान अघि नबढ्ने भनेर कित्ता क्लियर गर्ने निष्कर्षमा पुगेको सूचना बाहिर आएको छ ।
नेकपा ओली समूहका नेता महेश बस्नेतले अबको केही दिनभित्रै वामदेव गौतम पनि ओली पक्षमै खुल्ने खुलासा गरेका छन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा मंगलबार बस्नेतले भने, ‘वामदेव गौतम जबजको व्याख्याता र केपी ओलीले नेतृत्व गरेको नेकपाको सशक्त नेता हो, अब केही दिनभित्रै यो कुरा क्लियर हुन्छ ।’
उनले आफूहरुको साईबर सेना कुनै सुरक्षा दस्ता नभएर सूचनाको सही प्रवाह गर्ने रुपचन्द्र विष्टको थाहा अभियानजस्तै भएको स्पष्ट पारे । आफूले यसको न्वारान गरेको सुनाउँदै आफू यसको सेनापति नभएको पनि बस्नेतको भनाई छ ।