काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीलाई भेटका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘दूत’ बनेर बस्नेत शुक्रवार विहान डिल्लीबजार कारागारा पुगेर चौधरीलाई भेटेका हुन् ।
चौधरीको रिहाइसहित मधेसका मुद्दा सम्बोधनका लागि सरकार र जसपाबिच सघन वार्ता भइरहेका बेला बस्नेत बालुवाटारको सन्देश बोकेर कारागार पुगेका हुन् । भेटबारे बताउँदै सांसद बस्नेतले चौधरीको रिहाइसहितको जसपा मागमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विशेष निर्णय गरिसकेको जानकारी गराउन आफू गएको बताए ।
उनका अनुसार विप्लव समूहका नेता कार्यकर्ता रिहा गर्न भएको सम्झौताकै स्पिरिटमा रहेर जसपाको माग सम्बोधन गर्ने विषयमा मन्त्रिपरिषदले विशेष निर्णय गरेको छ । जसलाई सुनाउन कारागार पुगेका हुन् । त्यो विशेष निर्णय के हो भन्ने उनले खुलाएनन् ।
भेटमा सांसद चौधरीले प्रधानमन्त्री ओलीले नै पार्टीको एजेन्डालाई सम्बोधन गर्न सक्ने भएकाले आफूहरू सकारात्मक भएको प्रतिक्रिया दिएको बस्नेतले बताए ।
उनका अनुसार एजेण्डा सम्बोधन भएमा सहकार्य गर्नुपर्नेमा चौधरी पनि तयार छन् । टिकापुरमा प्रहरीका एसएसपीसहित ८ जनाको हत्या हुनेगरी भएको घटनाको मुख्य अभियुक्तका रुपमा दोषी ठहर्याउँदै चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले जन्मकैद हुने फैसला गरेको छ ।
फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावलोकन निवदेन दिएका छन् । मुद्दा विचाराधीन छ ।