काठमाडौं। भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोना खोप उपलब्ध गराएको छ। यसअघि भारत सरकारले नेपाललाई दश लाख डोज खोप अनुदान स्वरुप दिएको थियो ।
मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा औपचारिक रुपमा खोप नेपाली सेनालाईहस्तान्तरण गरिएको हो।
कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले ‘भिडियो टेली कन्फ्रेसिङ’ मार्फत उक्त भ्याक्सिन प्रधान सेनापति पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरे पश्चात नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भौतिक रुपमा हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीति अनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए।
प्रत्युत्तरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले सहयोगको लागि जनरल नरवणे, भारतीय सेना तथा भारतीय सेनाको सकल दर्जालाई धन्यवाद ज्ञापन गरेका छन् ।