बेइजिङ । चीन र म्यानमारको सैन्य सरकारबीचको सम्बन्ध जटिलपूर्ण बनेको छ । म्यानमार सेनाले फेब्रुअरी १ मा कू गरेपछि देशभर व्यापक विरोध प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शनकारीहरुले म्यानमारको सैन्य कूको विरोध नगरेको तर, उल्टै समर्थन गरेको भन्दै चीनप्रति आक्रोशित बनेका छन् ।
म्यानमारको सैन्य सरकारलाई चीनले समर्थन गरेको भन्दै प्रदर्शनकारीहरुले चिनियाँ उद्योगहरुमा आक्रमण गर्ने, तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् । यो साता म्यानमारमा रक्तपतापूर्ण बनेको छ । गत शनिबार एकैदिन ११४ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
म्यानमारमा सैन्य कू भएदेखि यता देशभर ४०० भन्दा बढीको मृत्यु भइसकेको छ भने संसारभरबाट म्यानमारको सैन्य सरकारले लिएको 'हत्या' को अभियानमाो निन्दा गरेका छन् ।
जनवरी पहिलो साता म्यानमार सेना प्रमुख मिन आङ ह्लियाङ र चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटपछि म्यानमार सेनाले फेब्रुअरी १ मा कू को कदम चालेको हो । म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सू चीलगायतका निर्वाचित सरकारका प्रतिनिधिहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई हालसम्म रिहा गरेको छैन ।
सैन्य कूमा चीनको समर्थन भए पनि म्यानमारका प्रदर्शनकारीहरुले चिनियाँ उद्योग र संरचनामाथि तोडफोड गरेपछि भने सैन्य सरकारसँग चीन असन्तुष्ट बनेको छ । यसअघि चीनले म्यानमार सीमा क्षेत्रमा तारबार लगाउने काम सुरु गरेको थियो । अहिले त्यसलाई पनि रोक लगाइएको छ ।
म्यानमारमा चीनको ठूलो लगानीमाथि आक्रमण भएको छ । चीनले उक्त लगानीको सुरक्षा गर्न चिनियाँ सेनालाई चेतावनी दिए पनि पूर्णरुपमा सुरक्षा गर्न सकेको छैन । मानिसहरुको मृत्यु भएसँगै म्यानमारका प्रदर्शनकारीहरु थप उत्तेजित भएका छन् । जसका कारण चीन र म्यानमार सेनाबीचको सम्बन्ध जटिल बन्दै गएको हो ।