काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको बङ्गलादेशको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सफल भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै मन्त्री ज्ञवालीले दुई देशका राष्ट्र प्रमुखबीचको भ्रमण र दुईपक्षीय छलफल, उच्चस्तरीय सहमति र सम्झौताले सम्बन्धलाई थप उचाइमा लैजान तथा आर्थिक साझेदारी र व्यापार प्रवद्धर्नका निम्ति ठोस उपलब्धी हासिल भएको स्पष्ट पारे ।
बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत चैत ९ र १० गते बङ्गलादेशको दुई दीवसीय राजकीय भ्रमण गरेकी थिइन्। भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले बङ्लादेशका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य राजनीतिक दलका नेतासँग दुई पक्षीय विषयमा केन्द्रित रही विचार विमर्श गरेका थिए।
परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका अवसरमा नेपाल र बङ्गलादेशका राष्ट्र प्रमुखबीच भएका दुई पक्षीय छलफल र सम्झौता तथा राजनीतिकस्तरमा गरिएका समझदारीले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सहयोग पुगेको सदनलाई जानकारी गराए ।