झापा। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रसँग सम्झौता नगर्ने बताएका छन् ।
उनले संसदीय गणितको संख्याले साथ दिएमा सरकारको अगुवाइ गर्ने तर, प्रजातन्त्रको विरुद्ध माओवादी वा एमाले कसैसँग पनि सम्झौता नगर्ने बताएका हुन् ।
झापाको शान्तिनगरमा शहीद यामबहादुर आचार्य प्रतिष्ठानले आयोजना गरेको स्व. आचार्यको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै सभापति देउवाले भनेका थिए, ‘नेपाली काँग्रेस एकमात्र प्रजातन्त्रवादी पार्टी हो, नेपाली काँग्रेसले प्रजातन्त्रको खिलाफमा कसैसँग सम्झौता गर्न सक्दैन, चाहे माओवादी होस् चाहे एमाले ।’
कार्यक्रममा बोल्दै देउवाले नेपाली काँग्रेस एक हुनुपर्ने र कांग्रेस एक भए संसारको कुनै पनि तागतले हराउन नसक्ने बताएका छन् । उनले भने, ‘एकता नै पार्टीको जग हो । हामी एक भयौँ भने संसारको कुनै तागतले हराउन सक्दैन ।’