Logo

आइतवार, जेठ २ गते २०७८

सरकारले सम्बोधन गर्यो मधेस मुद्दा, जसपामा महन्थ ठाकुरले चाले निर्णायक कदम

सरकारले सम्बोधन गर्यो मधेस मुद्दा, जसपामा महन्थ ठाकुरले चाले निर्णायक कदम

Nepal Pana बैशाख ४ २०७८
  • 16.6K
    SHARES
  • सरकारले सम्बोधन गर्यो मधेस मुद्दा, जसपामा महन्थ ठाकुरले चाले निर्णायक कदम

    काठमाडौं । सरकारले मधेसका मुद्दा सम्बोधनको प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालसँग वार्ताका माध्यमबाट सरकार लामो समयदेखि थाँती रहेका मुद्दा सम्बोधनमा अग्रसर भएको हो ।

    जसपामा मधेस मुद्दा समाधानका लागि अध्यक्ष महन्थ ठाकुरले एक्लै पहल थालेका छन् । उपेन्द्र यादव र बाबुराम भट्टराईको विरोधका बाबजुद महन्थले मुद्दा निष्कर्षमा पुरयाउन सक्रिय भएका छन् । जसलाई ओली सरकारले साथ दिएको छ । 

    यसैक्रममा सरकारले मुद्दा फिर्ताको काम सुरु गरेको छ । जसपाबाट नेता कार्यकर्ताको नाम मगाएर सरकारले यो प्रक्रियालाई निरन्तरता दिएको हो । जसपाले गत बिहीबार गृह मन्त्रालयमा प्रदेश मन्त्रीदेखि मेयरसम्म मुद्दा खेपिरहेका २०८ जनाको नामको फाइल बुझाएको छ । जसपाका नेता सुरेन्द्र झाले गृहसचिव महेश्वर न्यौपानेलाई ५ जिल्लामा चलिरहेका २४ वटा मुद्दासँग सम्बन्धित २०८ जना नेता कार्यकर्ताको नाम बुझाएका हुन् ।

    झाका अनुसार महोत्तरी, कपिलवस्तु, नवलपरासी, सर्लाही र रौतहट गरी ५ जिल्लामा झुठा मुद्दामा २०८ जना नेता कार्यकर्ताको नाम पोलिएको छ । यसमा कर्तव्य ज्यान, आगलागी, डकैती लगायत मुद्दाको प्रकृति रहेको छ ।

    फाइलमा चर्चित अनुहारहरुमा प्रदेश २ को सामाजिक विकास राज्यमन्त्री अविराम शर्मा, प्रदेश २ का सांसद कौशल यादव, जलेश्वरका मेयर रामशंकर शाही, राजपाका नेता सुरेश पाण्डे, रौतहटका पूर्वसांसद पवन सिंहलगायत रहेका छन् ।

    बुझाइएको नाममा मुद्दाको प्रकृति हेरेर छोड्न मिल्नेलाई छोड्ने, मुद्दा फिर्ता लिन मिल्नेको फिर्ता लिने, अदालतको काम अदालतले गर्ने, त्यसमा सरकारले सहजीकरण गर्ने, अन्तिम फैसला भइसकेका मुद्दामा माफी दिने, कैद मिनाहा गर्नेगरी कारबाही अघि बढाउन माग गरिएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा जसपाले बुझाएको नामावलीमा आन्तरिक छानबिन भइरहेको बताउँछन् ।  जसपा नेता झाले भने मुद्दासँग जोडिएका व्यक्तिको हकमा प्रधानमन्त्रीले एक हप्ताभित्र निर्णय गर्छु भनेको बताए । उनका अनुसार यो प्रारम्भिक सूची हो ।

    झाका अनुसार देशभर १२ सय नेता कार्यकर्तामाथि मुद्दा लागेको छ । यी मुद्दा जस्तो प्रकृतिमा त्यसैगरी हल गर्नेगरी अघि बढेको झा बताउँछन् ।

    मधेसका अन्य मुद्दामा लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन रहेका छन् । यी मुद्दा पनि विस्तारै अघि बढाउने सरकारी तयारी छ । 

    जसपा कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले पहिलो चरणमा झुठा मुद्दा फिर्ताको काम अघि बढेको बताए । सरकारले मागेपछि मधेसका नेता कार्यकर्ताको प्रारम्भिक सूची गृहलाई बुझाइएको बताए । उनका अनुसार विस्तारै संविधान संशोधनको प्रक्रियालाई पनि अघि बढाउने आश्वासन सरकारी पक्षको छ । 

    बैशाख ४, २०७८ शनिवार ०८:३२:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महन्थ ठाकुर

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana