काठमाडौं । पशुपति क्षेत्रमा शव गाड्ने क्रिश्चियनलाई फिर्ता पठाइएको छ । आज मंगलवार पशुपति क्षेत्रको श्लेषमान्तक वनमा ईशाइ (क्रिश्चियन धर्मावलम्बी)ले खाल्डो खनेर गाड्न लागेको अबस्थाका दुईवटा शवलाई फिर्ता पठाएको विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले जानकारी दिइन् ।
उनका अनुसार सुरक्षाकर्मीहरु र पशुपतिक्षेत्र विकास कोषका कर्मचारीको सहयोगमा दुई वटा शव फिर्ता पठाइको हो ।
आराध्यदेव भगवान् पशुपतिनाथ जस्तो हिन्दु ओमकार परिवारको आस्थाको केन्द्रमा इशाइको चिहान निर्माण गर्ने / शव गाड्ने कुरा निन्दनीय भएको भण्डारीको भनाइ छ ।
‘आफ्नो धर्म संस्कृतिको संरक्षण/संवर्धन गर्नु हामी सबैको कर्तव्य भएकोले आज सुरक्षाकर्मी र पशुपतिक्षेत्र बिकास कोषका कर्मचारीहरुको पहलमा शव फिर्ता पठाएकोमा सुरक्षाकर्मी र कोषका कर्मचारीलाई हार्दिक धन्यवाद दिन चहान्छु,’ भण्डारीले भनेकी छन् ।
‘पशुपतिनाथ हामी बिश्व भरिका हिन्दु ओमकार परिवारको आस्थाको केन्द्र भएकाले श्लेशमान्तक वनमा पक्की चिहान निर्माण नगर्न, शव नगाड्न र बैकल्पिक ब्यबस्था गर्न सर्वोच्च अदालतले गरेको फैसला विपरीत हिन्दु धर्ममाथि अतिक्रमण गर्ने उद्देश्यले विभिन्न राजनीतिक शक्तिको आडमा यस्ता कार्यहरु पशुपतिनाथ क्षेत्रको श्लेषमान्तक वनमा गरिँदै आएकोप्रति सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुले आवाज उठाउँदै अाएका थिए,’ भण्डा्रीले उल्लेख गरेकी छन् ।