Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

एमसीसीका कट्टर विरोधी प्रचण्ड र माधव नेपाल सत्तामा आएपछि संसदबाट पारित गराउन सहमत, के गर्लान भीम रावल?

एमसीसीका कट्टर विरोधी प्रचण्ड र माधव नेपाल सत्तामा आएपछि संसदबाट पारित गराउन सहमत, के गर्लान भीम रावल?

नेपालपाना श्रावण १ २०७८
  • 7.1K
    SHARES
  • एमसीसीका कट्टर विरोधी प्रचण्ड र माधव नेपाल सत्तामा आएपछि संसदबाट पारित गराउन सहमत, के गर्लान भीम रावल?

    काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताका कट्टर विरोधी थिए, तत्कालीन नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल । तत्कालीन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी अगाडि बढाउन खोज्दा एकै पार्टीमा रहेका सहयोद्दा प्रचण्ड र माधवबाट असहयोग भयो । 

    तर अहिले परिस्थिति फेरिएको छ । पार्टी अलग भएको छ । पार्टीमात्र होइन गुट नै अलग भएको छ । माओवादी केन्द्रको अध्यक्षको रुपमा प्रचण्ड र एमाले विद्रोही समूहको प्रतिनिधित्व गरेर माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्ता सारथी बन्न पुगेका छन् । देउवासँग सत्ता सहकार्यको टर्निङ प्वाइन्ट नै एमसीसी थियो । एमसीसी पारित गराउने सहमति पछि देउवाको नेतृत्वमा विपक्षी गठबन्धन बनेको थियो । जो अहिले सत्ता गठबन्धनमा परिणत भएको छ अदालतको फैसलाले । 

    सहमतिअनुसार देउवा सरकारले एमसीसीलाई अगाडि बढाउने भएको छ । त्यो पनि कट्टर विरोधी नेताहरुकै प्रत्यक्ष सहयोगमा । एमसीसी पारित गराउन देउवा, प्रचण्ड र माधवबिच नयाँ सरकार बनेपछि पुन: एकपटक वार्ता भइ अगाडि बढाउने सहमति भएको बुझिएको छ । 

    एमसीसी सम्झौता २०७४ भदौ २९ गते वासिंङटनमा भएको थियो । त्यो बेला अहिलेका प्रधानमन्त्री देउवा नै प्रधानमन्त्री थिए भने हालका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री थिए । कार्कीले नै नेपालको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको थियो । 

    के गर्लान भीम रावल ?

    एमसीसीको चर्को विरोध गर्ने नेता हुन् भीम रावल । उनले नै राष्ट्रघाती भन्दै यसलाई एजेण्डा बनाएका हुन् । तर रावल माधव नेपाल समूहका प्रमुख नेता हुन् । उनी नेता नेपालको अति निकट र विश्वासिलो मानिन्छन् । अब उनकै नेता माधवले नै देउवासँग मिलेर एमसीसी अगाडि बढाउन खोजेपछि रावलले के गर्लान भन्ने प्रश्न उठेको छ । साथसाथै रावललाई आफै पनि नैतिक संकट उत्पन्न भएको हुनुपर्छ । 

    माओवादी नेताहरुका अनुसार एमसीसी छिट्टै सदनबाट पारित गराउने तयारी छ । हाल एमसीसी विधेयक संसदमा विचाराधीन छ ।

    सत्ता परिवर्तन भएसँगै सदनमा एमसीसीमा असहयोग गरेका सभामुख अग्निप्रसाद सापकोटा पनि सकारात्मक छन् । प्रचण्ड निकट सापकोटा सदन चलेसँगै एमसीसीलाई अगाडि बढाउने तयारीमा लागेका छन् ।  त्यसो त प्रचण्डले अमेरिकी राजदूतलाई भेटेर आफ्नो सरकार आएपछि एमसीसी पारित गराउने प्रतिबद्धता जनाएको पनि यसअघि नै आइसकेको छ । त्यतिमात्रै होइन ओली सरकारविरुद्धको प्रदर्शनमा एमसीसीविरुद्ध नारा लाग्दा प्रचण्डले रोकेका थिए ।

    श्रावण १, २०७८ शुक्रवार १०:५२:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana