काठमाडौं। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले गत आर्थिक वर्षमा रु २४ करोड ७४ लाख ४१ हजार ५०० राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले दुई लाख ५८ हजार ९७२ सवारीलाई जरिवाना गराई राजश्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराम कोइरालाका अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा गत आार्थिक वर्षमा १२५।३४ प्रतिशतले राजश्व वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्षमा एक लाख ५१ हजार १२१ सवारी कारबाहीबाट रु १० करोड ९८ लाख ६ हजार ५०० राजश्व सङ्कलन भएको थियो ।
आर्थिक पारदर्शीता कायम गर्ने र प्रहरी कर्मचारीमा आन्तरिक शुद्धीकरण ल्याएका कारण राजश्वमा वृद्धि भएको कोइरालाको भनाइ छ । गत आर्थिक वर्षमा सो कार्यालय मातहतका प्रहरीले घुस रकम फिर्ता गरेर मात्रै रु २० लाख ३५ हजार ५०० राजश्व सङ्कलन भएको छ ।
उहाँका अनुसार आर्थिक प्रलोभनबापत रु तीन लाख ५६ हजार ८०० रकम फिर्ता गरी उनीहरूलाई जरिवाना गरेर पूर्ण राजश्व असुल गरिएको थियो । सो क्रममा एक हजार ९३८ सवारी साधनका चालक सहचालकले गल्ती ढाकछोप गर्न रकम दिएका थिए ।