काठमाडौं । नेकपा (एमाले) को च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बसिरहेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र अनुपस्थित हुने सांसदहरुलाई कारवाहीको तयारी गरेको छ । बैठकले अनुशासनको कारवाही गर्ने तयारी गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
सर्वोच्चको फैसलाले ७६ (५) मा ह्विप नलाग्ने भनिरहेका बेला विश्वासको मतमा कारवाही गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ ।
एमालेका १२१ सांसद मध्य ३३ जनाले पार्टीको निर्णयको उल्लंघन गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १४ र ओली समूहका ८ जना गरि २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए । यस्तै नेपाल समूहका १० जना अनुपस्थित रहेका थिए । सांसद भीम रावलले मतदान अघि नै राजिनामा दिएका थिए ।
माधव समूह र आफ्नै समूहका सांसदलाई फ्लोर क्रस गरेकाले कारवाही गर्ने तयारी भइरहेका पाउँछ कि पाउँदैन सर्वोच्चको फैसलाले दिन्छ कि दिँदैन भन्ने प्रश्न उठेको छ ।
यसमा संविधानविद् विपिन अधिकारी संसदमा फ्रोरक्रश गर्ने माधव नेपाल पक्षका सांसदलाई हटाउने अधिकार पार्टीसँगै सुरक्षित रहेको बताउँछन् । पार्टीको निर्णय नमान्ने सांसदहरूलाई पार्टीले कारबाही गर्न सक्ने जिकिर उनले गरे ।
‘अदालतको दृष्टिकोण प्रधानमन्त्रीको प्रस्ताव गर्दा हस्ताक्षर गरेर समर्थन गर्ने सांसदहरूलाई कारबाही नगर्नु भन्ने हो । त्यसबेला पार्टीले लिखित रूपमा ह्वीप जारी गरेको थिएन। त्यसै बेला पनि ह्वीप जारी गरेको भए उनीहरूले दिन मिल्दैन थियो, लिखित रूपमा ह्वीप जारी नभएका बेला दिइएको मतका आधारमा कारबाही गर्न पाइएन भन्ने हो तर जब विश्वासको मतको प्रक्रियामा जान्छ । त्यस्तो अवस्थामा पार्टीले आफ्नो परिपाटी अनुसार ह्वीप लगाउन सक्छ,’ अधिकारीले भने ।