Logo

शुक्रवार, आश्विन १ गते २०७८

धन कमाउन मलेसिया गएका भुजेल १८ वर्षपछि अपाङ्ग बनेर फर्किए

धन कमाउन मलेसिया गएका भुजेल १८ वर्षपछि अपाङ्ग बनेर फर्किए

नेपालपाना भाद्र ४ २०७८
  • 2.1K
    SHARES
  • धन कमाउन मलेसिया गएका भुजेल १८ वर्षपछि अपाङ्ग बनेर फर्किए

    खोटाङ । १८ वर्षअघि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला घलेगाउँका डम्बर भुजेल मलेसिया जानका लागि घरबाट विदाई हुँदैगर्दा बुवा गोरे भनिने राजमान भुजेल र आमा भलमायाँ भुजेलले आफ्नो ‘दुःखका दिन गए, सुखका दिन सुरु भए’ भन्ने ठानेका थिए । तर, परदेशमा पैसा कमाउने र परिवारमा सुख भित्र्याउने सपना बोकेर ऋण काढेर २०६० सालमा विदेशिएका डम्बरको सपना अधुरै रह्यो, सिंगो परिवारकै सपना चकनाचुर भयो । धन सम्पत्ति कमाएर फर्किन्छु भनेर हिँडेका डम्बरले पैसा त ल्याएनन् नै १८ वर्षपछि अपाङ्गजस्तै बनेर घर फर्किएका छन् ।

    वैदेशिक रोजगारीका सिलसिलामा सन् २००३ मा कामदारका रुपमा मलेसिया पुगेका डम्बर सन् २००६ बाट पूर्णरुपमा परिवारदेखि सम्पर्कविहीन बनेका थिए । लामो समयसम्म घर नआउँदा र सम्पर्क नहुँदा डम्बर ‘जीवित छन् वा छैनन्’ भन्ने बारेमा घरपरिवार नै अन्योलमा थियो । छरछिमेकले पनि उनी जीवित छन् भन्ने आश मारिसकेका थिए । सम्पर्कविहीन हुँदा परिवारले माया मारिसकेका डम्बर १८ वर्षपछि साउन २९ गते विहान ४ बजे घर आइपुगेका छन् । २४ वर्षको उमेरमा मलेसिया पुगेका डम्बर देब्रे हात नचल्ने र दाहिने खप्पर भित्र पसेको अवस्थामा फर्किएका हुन् । उनले ६२ वर्ष पुगेका बुवा राजमानलाई चिन्न सके तर राजमानले छोरालाई चिन्न गाह्रो भयो । ‘मान्छे त आइपुग्यो तर अपाङ्ग बनेर आयो । दायाँ खप्पर पुरै भित्र पसेको छ । देब्रे हात चल्दैन । टिसर्ट लगाउन समेत देब्रे हातले भर दिँदैन,’ राजबिरले भने, ‘कडा स्वरमा बोल्न सक्दैन, सानो स्वरमा बोल्छ । हिँड्दा पनि विस्तारै हिँड्छ । आफैं पानी ल्याएर खाना पकाएर खान सक्ने अवस्था समेत छैन ।’

    डम्बर विदेशिएको समय हिजो आजजस्तो फोनको सुविधा थिएन । चिट्ठीपत्रबाट सञ्चोविसञ्चो र हालखबर आदान–प्रदान हुन्थ्यो । मलेसिया पुगेको अढाई वर्षसम्म उनी चिठ्ठीपत्र पठाएर परिवारको सम्पर्कमा रहे । तर, सन् २००६ देखि डम्बर वेपत्ता भएका थिए । उनी सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता छायो तर सोधीखोजी गर्ने कुनै माध्यम थिएन । कसैले ‘डम्बर ज्यूँदै छ, उतै बसिरहेको छ’ भन्ने अनुमान गर्थे, कसैले ‘उ वितिसकेको छ, नत्र घर सम्झन्थ्यो, परिवार सम्झेर आउँथ्यो’ भन्थे । परिवारसामु उनको बाटो हेरेर बस्नुको विकल्प रहेन । एक दशकसम्म सम्पर्कमा नआउँदा उनको नाममा छाकसम्म छोडिए । डम्बर मलेसिया जाँदैगर्दा घरमा बुवा, आमा, तीन जना भाई र चार बहिनी थिए । त्यो बेलाका स–साना भाई बहिनी हुर्किएर विवाह गरेर हाल आ–आफ्नो घरजम गरिसकेका छन् । डम्बरको बाटो हेर्दै बसिरहेकी आमा भलामायाँको ७ वर्षअघि मृत्यु भइसकेको छ ।

    २०७७ साल मंसिर ७ गते मलेसियामा एउटा पसल अगाडि अचेत अवस्थाका पुरुष भेटिए । अचेत अवस्थामा भेट्ने नेपालीले मरिसकेको भन्दै पहिचानका लागि उनको तस्बिर सामाजिक सञ्जालमा तस्बिर राखेका थिए । सामाजिक सञ्जालमा उनको ठेगाना खोटाङ उल्लेख गरिएको थियो । सोही सूचनाको आधारमा केपिलासगढी गाउँपालिका र बालसेवा समाजको सहकार्यमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)को मनोसामाजिक परामर्शदाता सिर्जना निरौलाले पनि उनको बारेमा सोधखोज सुरु गरिन् । त्यसपछि उनी बाक्सिला घले गाउँको डम्बर भुजेल भएको यकिन गरिएको थियो । घरमा लास ल्याउने चर्चा चलिरहेका बेला डम्बर अचेत मात्र भएकाले उद्धार गरेर अस्पतालमा पुर्‍याइएको जानकारी आयो । कुबेतमा रहेकी उनकी माइली बहिनी सविनाले पनि डम्बर जीवित रहेको भन्दै परिवारमा खबर गरिन् । ‘फेसबुकमा आएको सूचनाको आधारमा सत्यतथ्य बुझ्दै जाँदा उहाँलाई टाउकोमा गम्भीर चोट लागेकाले अचेत मात्र भएको र अस्पतालमा उपचार भइरहेको पत्ता लाग्यो,’ मनोसामाजिक परामर्शदाता निरौलाले भनिन्, ‘लामो समयसम्म अवैधरुपमा बसिरहेका उहाँलाई नेपाल निकाल्नका लागि साथमा कुनै पनि डकुमेन्ट थिएन । सामीकै तर्फबाट निरन्तर फलोअप गर्ने, कागजात तयार पार्न सहयोग गर्नेदेखि उद्धार गरेर नेपाल ल्याउन सहयोग गरिएको हो ।’ अन्ततः सामीको सहयोग र सहजीकरणमा डम्बर साउन २३ गते काठ्माण्डौं उत्रिएका थिए । डम्बरलाई ६/७ महिनासम्म अस्पतालमा राखेर उपचार गरिएको थियो । टाउकाको दुई पल्ट अप्रेसन गर्नुपरेकै कारण उनलाई स्वदेश ल्याउनका लागि समय लागेको हो । उनी दुर्घट्नामा परेको अनुमान गरिएको छ । डम्बरलाई स्वदेश फर्काउनका लागि मलेसियास्थित नेपाली दूतावासले समेत सहयोग गरेको जनाइएको छ ।

    काठ्माडौं उत्रिएपछि उनलाई प्रवासी नेपाली समन्वय समिति (कानुनी सहायता जनअधिकार मञ्च)को क्वारेन्टिनमा राखिएको थियो । तर, स्वास्थ्यमा समस्या देखिइरहेकाले तीन दिनपछि नै परिवारको जिम्मा लगाइएको थियो । डम्बर १८ वर्षसम्म ‘कसरी बसे र किन सम्पर्कविहीन बने’ भन्ने पाटो भने खुल्न बाँकी छ । छोराछोरी विवाह गरेर आ–आफ्नो सुतीखेतीमा लागेपछि घरमा एक्लै बसिरहेका राजमान मायाँ मारिसकेको छोरा फर्किएकामा खुसी पनि छन्, उत्तिकै दुःखी पनि । सकुशल विदेशिएका छोरा शारीरिक र मानसिकरुपमा अशक्त बनेर फर्कँदा राजमान चिन्तित छन् । ‘कहीँ न कहीँ ज्यूँदै छ, भन्ने आश चै मरेको थिएन । तर, न घाँसपात गर्न सक्छ, न भारी बोक्न सक्छ । कसरी गरी खान सक्लान्,’ उनले भने, ‘विदेशबाट उसले एक पैसा पनि घरमा पठाएन । ऋण चैं तिर्‍यो होला । साहुले ऋण मागेको छैन ।’

    भाद्र ४, २०७८ शुक्रवार १२:४४:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलेसिया

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana