काठमाडौं । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले चीनले नेपालको सीमा मिचेको ठोकुवा गरेका छन् ।
हुम्लाबाट निर्वाचित प्रदेश सांसद शाहीले हुम्लाको उत्तरी क्षेत्रमा आफैं स्थलगत अवलोकन गरेर चीनले सीमा मिचेको तथ्य पत्ता लगाएका थिए । तर तत्कालीन सरकारले भने चीनको बदमासीको संरक्षण गर्दै सीमा नमिचिएको बताएको थियो ।
आफैं स्थलगत अध्ययनमा गएर ठाउँ ठाउँमा सीमा मिचेको आफ्नै आँखाले देखेर बाहिर ल्याएका शाहीले प्राविधिकहरुबाट सर्वपक्षीय अध्ययन गर्दा दुधको दुध पानीको पानी बाहिर आउने बताउँदै आएका छन् ।
शुक्रवार पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता शाहीले चीन रिसाउने डरले आफ्नो भूमि मिचिँदा पनि मिचिएको छैन भनेर बचाउ गर्नेलाई स्थलगत अवलोकन गरेर बोल्न चुनौती दिए । शाहीले स्थगलगत अवलोकन नगरी काठमाडौमा बसेर चीनले भूमि मिचेको छैन भनेर दावी गर्नेहरुलाई आफ्नै खर्चमा हेलिकोप्टरमा सीमा क्षेत्रको वास्तविकता देखाउने पनि घोषणा गरे ।
शाहीले विगतमा नेपाल आफैंले बाटो बनाएको, भोगचलन गरेको र सिमाना वारी नै रहेको ठाउँमा अहिले चीनबाट अतिक्रमण भएको बताए । 'चीनले नेपाली भूभाग मिचेको मैले नांगो आँखाले देखेको छु, त्यसका बारेमा निश्पक्ष छानविन गर्न मैले माग गर्दै आएको छु,' उनले भने । उनले आफ्नो लगातारको मागपछि सरकारले उच्चस्तरीय छानविन समिति बनाएकोमा धन्यवाद दिए । यसले विवाद अन्त्य गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
'चीनले सिमाना मिचिरहने, हामी चुप लागेर सहीरहने हो भने कहिले पनि समस्याको समाधान हुँदैन । झन बल्झिदै जान्छ । दुई देशबीचको सम्बन्ध थप बिग्रिन्छ,' नेता शाहीले भने ।