Logo

आइतवार, मंसिर १२ गते २०७८

images

२१ जिल्लामा कांग्रेसकाे वडा अधिवेशन अझै अनिश्चित

२१ जिल्लामा कांग्रेसकाे वडा अधिवेशन अझै अनिश्चित

नेपालपाना भाद्र १९ २०७८
  • 3.1K
    SHARES
  • २१ जिल्लामा कांग्रेसकाे वडा अधिवेशन अझै अनिश्चित

    काठमाडौं। नेपाली कांग्रेसको भदौ १८ गतेदेखि सुरु भएको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज पनि जारी छ । वडा अधिवेशनका क्रममा आज झापा र मुस्ताङ गरी दुई जिल्लाको कार्यक्रम भएको समितिका संयोजक महादेवप्रसाद यादवले राससलाई जानकारी दिनुभयो । 

    शुक्रबार ३५ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको थियो । पार्टीले क्रियाशील सदस्यताको सूची दिएका जिल्लामध्ये ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले भदौ १८ अघि ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको थियो । 

    आज डढेल्धुराका क्रियाशील सदस्यको सूची समितिलाई प्राप्त हुने जानकारी आएको संयोजक यादवले बताउनुभयो । बेलुकीसम्म पनि सूची प्राप्त नभएको समितिले जनाएको छ । डढेल्धुरा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । क्रियाशील सदस्य सार्वजनिक भएका बाँकी जिल्लाको वडा अधिवेशन छिटो गर्न समितिले पार्टीलाई निर्देशन दिएको छ ।

    क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका २१ जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ । क्रियाशील सदस्यको सूची सार्वजनिक भएको दुई घण्टाभित्र जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएर खटाउन सकिने गरी तयारी भएको छ । 

    कांग्रेसले ७५३ वटै स्थानीय तहको अधिवेशन भदौ २७ गते गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । त्यसअघिसम्म ७७ वटै जिल्लाका सबै वडाको अधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिले पार्टीको ध्यानाकर्षण गराउँदै आएको छ । 

    करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।
     
    मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने समितिका संयोजक यादवले जानकारी दिनुभयो । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।
     
    महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन आज भदौ १८, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । 

    यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

    मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा काठमाडौँमा सम्पन्न भएको थियो । वडा अधिवेशन गर्न तोकिएको भदौ १८ को मिति नाघिसक्दासमेत २० जिल्लाका क्रियाशील सदस्यको सूची अझै सार्वजनिक नभएकामा सम्बन्धित जिल्लाका कार्यकर्ता निराश बन्न थालेका छन् ।

    भाद्र १९, २०७८ शनिवार १९:४२:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana